Friday, May 10, 2013

समयको कालो बुर्कोभित्र निर्वस्त्र एक मन


शिव प्रकाश

समय आफैं 
समयसँग पराजित भएको बेला
पराजित समयका आँखाले
सबै कुरा उल्टो देखिरहेको बेला
आफ्नै मित्रुले शत्रुफणा उठाएको बेला
आफन्तले पराईको चीसो आगो तापिरहेको बेला
कतै गड्यौलाका रुपमा 
मान्छे सामू मान्छे,
कतै ब्वाँसाका स्वरुपमा 
मान्छेसँग मान्छे 
र, सबै मान्छेसँग सबै मान्छे लडिरहेको बेला 
अविश्वासका पर्खालले 
विश्वासका बाटाघाटा छेकेको बेला 
समयको कालो बुर्कोभित्र 
तिमीले लुकाएको तिम्रो स्वरुपको कुरुपता
त्यही कुरुपताभित्र लुकेको तिम्रो नयाँ संस्करण
अन्ततः उदाङ्गो भएको छ मान्छे 
चौरस्ताको नाङ्गो शालिक जस्तै !

समय लाग्दैन समय बदलिन,
समयले समय निकालेर 
च्यातिदिएको छ त्यो समयको कालो बुर्को
हेर त मान्छे– 
यो समयको ऐनामा एकपटक तिम्रो अनुहार 
छर्लङ्ग देख्ने छौ–
आफ्नो नाङ्गो अनुहारमा पोतिएको 
आफ्नै निर्वस्त्र मन !

(अश्रृङ्गार कविता अभियान....)
हालः बोस्टन, अमेरिका । मे १०, २०१३

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !