Thursday, July 11, 2013

चोरबाटोको एक यात्री

शिव प्रकाश

हिड्दै छ, हिडिरहेछ
निष्ठा र इमानका
नैतिकता र स्वाभिमानका 
सबै बाटाहरु छलेर
परिभाषाहरू तोडेर
सधैं उही बाटो, त्यही चोरबाटो !
भन्छ– यो छिटो र छोटो छ
त्यसैले सधैं हिड्न मन लाग्छ ।

हिड्दा हिड्दै–हिड्दा हिड्दै
जीवनको आधा बाटो हिडिसकेको छ
लाग्छ– अहिले ऊ हैन
उमाथि बाटो हिडिरेहछ !
उही बाटो, सधैं आफू हिड्ने 
छिटो र छोटो, त्यही चोरबाटो । 

भन्छ– किन हिड्नु मूलबाटो ?
को हिड्छ ? मूलबाटो !
सबै सधैं छोटो र छिटो हिड्न थालेका छन्
भेटिदैनन् अब राम्रा मान्छे मूलबाटामा
ऊ आफूलाई सधैं राम्रो ठान्छ 
र त सधैं छिटो र छोटो बाटो हिड्छ ।

ऊ राम्रो छ
उसलाई राम्रो थाह छ 
तर असल थाह छैन 
राम्रो मान्छे 
अनेक गर्छ झन् राम्रो हुन 
उसको अनेकभित्र जे पनि पर्छ 
ऊ जस्तै पछाडि गाली ठोक्ने राम्राहरुले
अगाडि ताली ठोक्छिन् 
भन्छ– “देख्यौ, मसँग कति छन् राम्रा मान्छे ?
राम्रा जति हामी सबै एउटै बाटो हिड्छौ ।”

राम्रो मान्छे 
झन् राम्रो हुन
नाङ्गै हिड्छ चोरबाटोमा
अरुलाई नङ्ग्याउने आँखाले 
देख्दैन आफू नाङ्गिएको 
भाग्न थाल्छन् मान्छे, हेर्न नसकेर त्यो नग्नता
भन्छ– “मेरो प्रतिभासामू कोही टिक्न सक्दैन्न्”
चिच्याउँछ– “नाङ्गिनु पनि एक कला हो
एक महान् प्रतिभा हो !”

(अश्रृङ्गार कविता अभियान....)
हालः बोस्टन, अमेरिका

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !