Saturday, July 13, 2013

मूर्ख छन् शिवजीहरु

शिव प्रकाश

मूर्ख  छन् शिवजीहरु
देख्दैनन् संसार परिक्रमा गर्ने 
तेजस्वी कार्तिकेयहरुलाई
देख्छन् मात्र आफ्नै ओरपरी 
घुम्ने र स्तुति गाउने गोबरगणेशहरुलाई 
मान्छे जस्ता देखिने मान्छे  
आत्मवलत्कारमा खुशी भए जस्तै 
खुशी हुन्छन् शिवजीहरु पनि
प्रशंसा र स्तुतिहरुमा 
र, बनाउँछन् मयलका गोबरगणेशहरुलाई श्रीगणेश  
 पुजित हुन्छन् समाजमा !

गाउँदै अपार महिमा 
झुम्मिन्छन् मानवका रुपमा 
मरन्च्याँसे दानवहरु
बौलाहा राजाले आँखा चिम्लेर न्याय दिए जस्तै
शिवजीहरु पनि भन्दिन्छन्– तथास्तु
जब विस्फारित हुन्छन् तीनै नेत्र
देख्छन्–आफ्नै आशिर्वचनले जन्माएका भष्मासुरहरु
आइलाग्छदैछन् आफैलाई भष्म गर्न 
अनि आफैंलाई धिक्कार्दै भन्छन्–
“कति मूर्ख छौ हामी शिवजीहरु 
चिन्देनौ देउता भएर पनि मानव र दावन 
मान्छेले मान्छे कसरी चिनुन् ?”

(अश्रृङ्गार कविता अभियान.....)
हालः बोस्टन, अमेरिका ।

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !