Tuesday, July 23, 2013

समाजको मनमुटु छुने सिर्जना

शिव प्रकाश

करीव १२५ वर्ष अघि वृटिस कवि म्याथु आर्नोल्डले भनेका थिए– “उत्तम साहित्यिक रचनाले समाजलाई अराजकताबाट जोगाउँछ ।”
समाज भन्नाले मानिसहरुको समूह नै हो । प्राचीन र परम्परागत मान्यता तथा अर्थ र परिभाषामा समाजको व्याख्या जसरी भए पनि आधुनिक समाज भनेको विभिन्न धर्म, सम्प्रदाय, जातजाती, भाषाभाषी, सँस्कार र संस्कृतिका अनुयायीहरुको सामूहिक स्वरुप हो । 
साहित्यको परिभाषा विविध र वृहद भएता पनि सबैले साजिलै बुझ्ने र ग्रहण गर्ने परिभाषा आचार्य महावीर प्रसादले दिए– “सहित्य समाजको दर्पण हो ।” र, साहित्य समाज र समयको प्रतिविम्ब पनि हो । 
त्यही दर्पण र विम्बको कालिगढ हो साहित्यकार । दर्पण मैलो भयो भने त्यसमा न समाजलाई देख्न सकिन्छ न समाजले त्यसलाई देख्न सक्छ ।
साहित्यलाई धेरैले धेरै किसिमले बुझेका छन् तर मेरो बुुझाइको सबैभन्दा सजिलो मेसोमा सबैभन्दा पहिला साहित्य ज्ञान हो र मान्छेभित्रको जटिलतालाई उत्खनन् गर्ने विज्ञान पनि हो । अथवा साहित्य ज्ञान र विज्ञान दुबै हो ।
साहित्य समाजको दपर्ण मात्र पनि हैन, समाजको सम्वाहक हो । त्यसैले सामाज र साहित्यको सम्बन्ध आत्मा र शरीरको जस्तो छ । शिषेरोको “किताब बिनाको कोठा...” जस्तै साहित्य बिनाको समाज आत्मा बिनाको शरीर जस्तै हो ।
साहित्यले समाजलाई देखाएको मात्र हुदैन, डो¥याएको पनि हुन्छ । धेरै साहित्यिक रचनाले समाजमा ठूल्ठला परिवर्तन ल्याएका छन् । मानिसको अचेतन अवस्थाको रुखो मस्तिष्कमा साहित्यले चेतनाको उर्जा प्रवाहित गरेर मलिलो बनाएको हुन्छ । यस अर्थमा चेतना र ज्ञानको ज्योतिपुञ्ज पनि हो साहित्य । संक्षेपमा भन्नु पर्दा मानव समाजलाई ठूल्ठूला र प्रेरणदायक सन्देशहरु संप्रेशित गर्ने सवल माध्यम पनि हो साहित्य ।
समाजको यस्तो गीत हो साहित्य, जसमा स्वर र संगीत चेतनाले भरेको हुन्छ । यस सन्दर्भमा आदिकवि भानुभक्तको “घाँसी दरिद्र तर बुद्धि कस्तो,...” भन्ने कवितालाई लिन सकिन्छ । मान्छेलाई सदैव केही असल कार्य गर्न उत्प्रेरित गर्ने आदिकविको यो एक कालजयी रचना हो । जसको स्वर र संगीत समयको चेतनाले भरेको छ । चेतना नै स्वर र संगीत बनेर समयसँगै जनजनका मुखबाट गुञ्जिदै आएको छ । उनकै रामायणले हामीलाई एउटा भाषाको गोरेटो कोरिदियो । त्यही गोरोटो अहिले ठूलो बाटो बन्यो । यही बाटोमा सिर्जनाका पाइलाहरु आगाडि बढाउँदै देशले सर्जकहरु जन्मायो ।
समाजलाई सन्देश सम्प्रेषण गर्ने र समाजको प्रतिनिधित्व गर्ने साहित्य कहिल्यै पुरानो हुदैन । संसारमा आयु नभएको बस्तु एउटै मात्र छ त्यो हो– साहित्य ।
“गाउँछ गीत नेपाली ....सुन्दर, शान्त विशाल ।” मलाई राष्ट्रकवि माधवप्रसाद घिमिरेको कविताले सधैं सम्झाइरहन्छ म जहाँ रहे पनि नेपाली हुँ र नेपाली नै भै रहने छु । यस्ले पनि त्यस्तै चेतनाले भरेको स्वर र संगीत पाएको छ । समयसँगै नेपालीका मुखबाट अविरल गुञ्जिरहेको छ यो स्वर । कुन नेपालीले राष्ट्रप्रेमको यो सरल भाव बुझ्दैन ? कुन नेपालीको मन मस्तिष्क यो गीतले छुदैन ? 
साहित्य, समाजका लागि एक अमूल्य सिर्जना हो । लेख्नका लागि र प्रचारका लागि नै लेख्ने हो भने जे लेखे पनि हुन्छ । नग्नतालाई नै सुन्दरता ठान्नेहरुका लागि नग्नताको बजार सबैभन्दा ठूलो छ, साहित्यको नाम दिनु जरुरी छैन । तर साहित्य नै लेख्ने हो भने साहित्यले समाजलाई बुझ्नु पर्छ र समाजले पनि साहित्यलाई बुझ्नु पर्छ । नबुझेसम्म मनन गर्न सक्दैन । मनन गर्न नसक्नु भनेको ग्राह्य नहुनु पनि हो । समाजलाई ग्राह्य नहुने शब्दहरुको जन्तीको लस्कर कदापी साहित्य हुदैन । 
देवकोटाको मुनामदनले समाजको मनमुटु  छामेको छ । हृदयको कोमलतालाई छोएको छ । समाजले पनि मुनामदनमा आफ्नै विम्ब–प्रतिविम्बहरु भेट्टाउँछ । र त जिब्राजिब्रामा सधैं झुण्डिएको छ– “हातका मैला, सुनका थैला के गर्नु धनले, साग र सिस्नु खाएको बेस आनन्दी मनले ।” यो पङ्तिले मात्र हैन, सिङ्गो मुनामदनले हाम्रो समाजको अन्तस्करण छोएको छ । समतामूलक समाजको निर्माणका लागि यो हरफले हाम्रो समाजलाई एक महान् सन्देश दिएको । यस अर्थमा साहित्य शब्द मात्र त हैन, सन्देश पनि हो । 
साहित्य लेखन एक तपस्ता हो तर यो मोक्ष, मुक्ति र प्राप्तिका लागि हैन समाजका लागि लेखिन्छ । समाजसँग “इन्टरएक्सन” गर्ने साहित्य त्यही समाजमा सधैं हाँसिरहेको हुन्छ । खेलिरहेको हुन्छ । नाँचिरहेको हुन्छ । बाँचिरहेको हुन्छ । समाज कहिल्यै मर्दैन, स्वरुप परिवर्तन हुन सक्छ र साहित्य परिवर्तित समाजमा पनि सधैं बाँचिरहेको हुन्छ । नेपाली साहित्यको विभिन्न कालखण्डलाई हेर्ने हो भने हाम्रा स्रष्टाहरु आफ्ना सिर्जना मार्फत अझै समाजसँग “इन्टरएक्सन” गरिरहेका छन् । 
लेखनाथको पिँजडाको सुगाले वालक बबुरोको गाथामा सम्पूर्ण राष्ट्रलाई पराधिनताको पीडा कस्तो हुन्छ भनेर सन्देश दिइरहेको छ ! प्रत्येक नेपालीलाई हमेसा होसियारी गराइरहेको छ । त्यतिबेलादेखि यतिबेलासम्म समाजसँग पिँजडा र सुगा दुबै बोलिरहेका छन् । जागरण कवि धरणीधरले अर्को सजगताको सन्देश दिएका छन्– जाग जाग...... उठ.. उन्नतीका खातिर उठ, जाग ।  रातो र चन्द्रसूर्य..... गीत कुन नेपालीको नसानसामा तातो रगत बनेर बगेको छैन ? गोपालप्रसाद रिमाल यो सिर्जना नेपालीको मुटुको धड्कन बनेर बसेको छ  । 
विसं २००२ मा लेखिएको गोपालप्रसाद रिमालको आमाको सपनाले कुन छोराछोरीको दायित्ववोधलाई उत्वोध गरेको छैन ? यस्ता अन्य धेरै साहित्यिक सिर्जनाहरु छन् जसले जन्मदै समाजसँग सम्बाद गर्दै आएका छन् र समाजमा सधैं बाँचेका छन् । 
अन्ततः यो संसारमा बाँच्ने योग्यता हो । साहित्यमा पनि योग्यता हुन जरुरी छ । योग्यताविनाको साहित्य साधन हुन सक्छ तर साहित्य हुन सक्दैन ।  
साहित्य निर्माण हैन, रचना हो । रचना भनेको सिर्जना हो । सिर्जना, सिर्जनामात्र हैन, सन्देश पनि हो । सन्देश नै समाजको सम्वाहक पनि हो । साहित्य समाजको जननी पनि हो । साहित्यले समाजाई प्रतिविम्बित मात्र गरेको हुदैन प्रतिनिधित्व पनि गरेको हुन्छ– एउटी आमाले एउटा घरको प्रतिनिधित्व गरे जस्तै । आमाले भरखरै खुट्टा टेक्न थालेको बच्चालाई हिड्न सिकाए जस्तै साहित्यले समाजलाई हिड्न सिकाउँछ । सभ्यता र संस्कारको सुमार्गमा अघि बढ्न प्रेरित गर्छ । 
एउटा शासकको घर र साहित्यकारको घरमा ठूलो अन्तर हुन्छ । शासकको घरमा शस्त्र हुन्छ साहित्यकारको घरमा शास्त्र हुन्छ । शासकको घरमा सम्पन्नता हुन्छ साहित्यकारको घरमा संस्कार हुन्छ । शासकको घरमा साधन हुन्छ साहित्यकारको घरमा साधना हुन्छ । 
समाजमा संचेतानाको सिंचन र परिवर्तनमा साहित्यले ठूलो भूमिका खेलेको हुन्छ । सुब्बा कृष्णलाल अधिकारीको मकैको खेतीले मेटामोर्फिक चट्टान जस्तो बलियो भएर नेपालको शासनसत्तामा गाडिएको राणा शासनलाई तिनताक बेस्सेरी हल्लायो । कति शक्ति छ सिर्जनामा ? राजनीतिको “र” पनि थाह नभएका जनतामा चेतना र चासो जगायो । 
नेपालको इतिहासमा मकैपर्वका रुपमा चिनिएको यो काण्ड आजभन्दा झण्डै सय वर्ष अघि विसं १९७७ मा घटेको थियो । मकैको खेती नामक पुस्तक लेखेर छपाए वापत लेखकालाई नौ वर्ष जेल सजाय तोकियो । एक हजारप्रति छापिएको उक्त पुस्तकको ९९९ प्रति तत्काल जलाएर भष्म गरियो । बाँकी एक प्रतिका लागि नौ मध्ये पाँच वर्ष जेल सजाय तोकेका थिए सबैभन्दा शक्तिशाली राणा शासक चन्द्र शम्शेरले । लेखक कृष्णलालको मृत्यु जेलमै भयो । उनलाई नेपाली साहित्यको पहिलो शहीद भनेर चिन्ने गरिन्छ ।
समय र समयको परिवर्तन साथै साहित्यले पनि परिवर्तनलाई आत्मसात गर्दै आएको छ । पछिल्ला दिनमा आएर कवि भूपि शेरचनको घुम्नेमेच माथि अन्धो मान्छे हाम्रो समाजको एक शास्वत सत्य–चित्र बनेर आयो । सबैका जीब्राजीब्रामा झुण्डियो ।
हो, साहित्यले समाजमा ठूल्ठूला परिवर्तनहरु ल्याएको छ । धपधपी बलेका चेतनाका पुञ्जले पुठूल्ठूला तानाशाहको शासनसत्तालाई खरानी बनाएको छ । 
रसियन लेखक फाइडोर डिस्टोयेभस्कीको “क्राइम एण्ड पनिस्मेण्ट” अहिले पनि पाठकाको रुचिको स्थानमा रहेको छ । सन् १८६६ देखि अहिलेसम्म चर्चाको विषय बनेको त्यो पुस्तक समाजका लागि एक दिग्दशर्न भएको छ । सोही ताका सन् १८६९मा पहिलो पल्ट प्रकाशित रसियन लेखक लियो टोल्सटोयको “युद्ध र शान्ति”ले अहिले पनि सम्पूर्ण भूगोलसँग सम्बाद गरिरहेको छ । 
समाज, समाज मात्र हैन, शासक पनि हो । परिवर्तनलाई आत्मसात गर्न नसक्नु पनि एक शासक हुनु हो । शासकहरु परिवर्तन चाहदैनन् । समाजमा रहेका कुरिति, कुसंस्कार, व्यभिचार, भेदभाव आदि समाज बनेर समाजमाथि नै शासन गरिरहेको हुन्छ । सन् १९९४ मा प्रकाशित वाङ्लादेशी लेखिका डा. तसलिमा नसरीनको “शेम”(शरम) शासक समाजले पचाउन सकेन । उनी निर्वासित हुनु प¥यो तर समाज सुधारमा “शेम”ले उर्जा निरन्तर दिइरहेको छ । यही प्रवृतिका भारतीय लेखक सलमान रुस्दीले पनि समाजका लागि शासक समाजको विरुद्ध द सटानिक भर्सेस लेखे । 
समाजले स्वीकारे पनि शासक समाजले समाजविरोधी रचना भनेर टर्कीका पामुक ओरनको रचनाहरुलाईलाई पनि पचाउन सकेको छैन । स्वतन्त्रता पछिको भारतमा व्याप्त दुराचार, भ्रष्ट्राचार, कुरुती, कुसंस्कारको पतनको कारण बन्यो लेखिका रेणुको “राग दराबारी” । कवीर, तुलसीदास, प्रेभचन्द भारतीय समाजमा समाजिक चेतना र संस्कारको आलोक बने । चेतनाका नायक, लोक नायक, सुधारकका उपाधीहरु पाए ।
सन् १८५० मा अमेरिकी काँग्रेसले “स्लेभ एक्ट” पारित गरेपछि शिक्षिका तथा पत्रकार हेरिट विचरले दासताका विरुद्ध किताब लेख्ने साहस गरिन् । “अंकल टम्स केभिन” सन् १८६१ को गृहयुद्धको सहायक बन्यो । गृहयुद्ध पछि नै आधुनिक अमेरिकाको निर्माण सुरु भयो ।
सन् १९९१ को नोवेल पुरस्कार विजेता अफ्रिकी श्वेत लेखिका नादिम गोर्डिमरका रचनाहरुले श्वेत शासकहरुको निद्रा विथोल्न थाल्यो । फलतः अफ्रिकी रङ्भेद आन्दलनको उर्जा बने उनका साहित्यिक रचनाहरु । “ट्वाइस ब्लेस्ट, सुगर एण्ड साल्छ, स्टेट अफ वार” जस्ता किताबकी फिलिपिनो लेखिका निनोच्का रोस्काले पनि मार्कोस सत्ताको मूल जरो हल्लाई दिइन् । अमेरिकाकै अप्टन वेल सिन्क्लेयरका “द जंगल” १९०६ जस्ता किताबले अमेरिकी कानून परिवर्तन गर्न वाध्य बनायो । फ्रान्सलाई रुसो र भोल्टेयरका साहित्यले नयाँ जीवन दियो । साहित्यले समाजलाई दिएका यस्ता धेरै उदाहरणहरु छन् । 
साहित्यभित्रको संवेदना र त्यसको असर मावन मनमस्तिष्कमा कतिसम्म पर्छ भन्ने कुरा “ग्लुमी सण्डे” भन्ने गीतले प्रमाणित गरेको छ । हंगेरियन कवि लाज्लो जेभोरले लेखको कवितालाई “ग्लुमी सण्डे” भनेर रेज्सो सेरिसले सन् १९३३ मा संगीतवद्ध गरेपछि धेरेको मृत्युको कारण बन्यो त्यो गीत । गीत सुनेर धेरैले आत्महत्या गरे । यतिसम्म कि संगीतकार स्यमंले पनि आत्महत्या गरे । यसलाई “सुसाइडल सङ्” पनि भनिन्छ । 
सहित्य सिर्जनामात्र हैन, भावनाको आँचलभित्र लुकेको संवेदनाको गुठरी पनि हो । लेख्ने हैन, सिर्जना नै गर्छु भन्ने सर्जक जिम्मेबार हुन पनि त्यतिकै खाँचो छ । यो जिम्मेवारीका लागि सबैभन्दा पहिला सर्जकका व्यक्तिगत आचरण पनि आफ्ना सिर्जना जस्तै सुन्दर हुन जरुरी छ । 
समाजमा सिर्जनाको मधुरमहक फैलाउँदै जनजनका मनमस्तिष्का कणकणमा वास गर्ने साधक कस्तो हुनु पर्छ ? बेलाबेला जुरुक् जुरुक् उठेर हाम्रो नेपाली साहित्यसँग उत्तर खोजिरहेको छ यो प्रश्नले ।  
साहित्य साधनासँगै निष्ठा, नैतिकता र इमानमा पनि साधना चाहिन्छ । सुन्दर सिर्जना गर्ने कति सर्जकहरु व्यक्तिगत तुच्छ व्यवहार र स्वास्र्थका कारण “उर्गेनको घोडा”मा जस्तो मान्छे “पशु” भएका छन् । अहिले साहित्यमा रत्नपार्कका “खुलुजीका दवा” बेपारी प्रवृत्ति निक्कै बढ्न थालेको छ । त्यो प्रवृत्तिको पङ्तिमा उभिएर आफूलाई कवि वा साहित्यकार भन्न हिच्किचाउने पनि बढ्दै छन् ।
अन्तमा, 
सधै युद्ध रुचाउने अमेरिकी माटोमा जन्मेकी युद्ध विरोधी कवि मुरियल रुकिशरले भनेकी छिन्– “संसार कणहरुले हैन, कथाहरुले बनेको छ । (सेतोपाटी शनिवार, श्रावण २६, २०७०)
हालः बोस्टन, अमेरिका ।

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !