Friday, July 26, 2013

रिजेक्टेड लेखकका हटकेक कृतिहरु

शिव प्रकाश

असफलताले खेद्नु भनेको सफलताका नजिक पु¥याउनु पनि हो । प्रशिद्ध आयरिस लेखक क्लिभ स्टेपल्स (सी.एस.) लुइसलाई पनि असफलताको भूतले खेदिरह्यो ।

सम्पादकहरु उनका रचनाका लागि भूतै भए । ती भूतहरुले उनका रचना ८०० पटक भन्दा बढी रिजेक्ट गरिदिए । रिजेक्सनमा सायद विश्व कीर्तिमान कायम गरेका होलान् यी लेखकले ? तै पनि उनी हारेनन् । हराएनन् । पलायन भएनन्, लेखिरहे ।  अन्ततः यिनै रिजेक्टेड लेखकको “स्पेस ट्रिलोजी” ले अर्को कीर्तिमान् कायम ग¥यो । सन् १९३८ मा प्रकाशित त्यो कितावले एकाएक संसारको ध्यान खिच्यो । त्यसमा उनले विज्ञानसँग साहित्यलाई जोडे । वर्षौसम्म जताततै चर्चाहरु भइरहे । अझै भइरहेका छन् । तिनै रिजेक्टेड लेखकद्वारा लिखित तथा सन् १९५० मा प्रकाशित “द क्रोनिकल अफ नर्निया”ले फेरि अर्को तहल्का मचायो । यसमा सिनेमा पनि बन्यो ।
त्यसैले लुइस भन्ने गर्थे– “लेखन यस्तो कला हो त्यसबाट तिमी जे पनि बनाउन सक्छौ ।”
अमेरिकी लेखक लुइस लामोरका रचनाहरुलाई २०० पटक भन्दा बढी रद्दीको टोकरीमा फालिदिए सम्पादकहरुले । रचनाहरु त फालिए तर उनको विश्वास फालिएन । झनै मौलाउँदै आयो । लामोरको पहिलो कृति ऐतिहासिक उपन्यासको रुपमा आयो । सन् १९५३ मा प्रकाशित “होण्डो”ले उनलाई आशातीत सफलता मिलायो । उनी राम्रा लेखक भनेर  चिनिए ।
अझै चर्चाको शिखरमै रहेका लेखक लामोरका चर्चित किताबहरुमा “फ्लिन्ट, क्याटलो, डाउन द लङ्ग हिल” रहेका छन् । उनका कथा तथा उपन्यासमा धेरै सिनेमा पनि बनेका छन् । उनले प्रशिद्ध अमेरिकी नेशनल बुक एवार्डदेखि पूर्व राष्ट्रपति रोनाल्ड रेगनद्वार एवार्ड अफ फ्रिडमसम्म पाएका छन् ।
उनी भन्ने गर्छन– “लेख्न सुरु गर, सरोकार छैन जे होस् । पानी तवसम्म चुहिदैन जबसम्म धाराको टुटी घुमाइदैन ।”
धेरै पुरानो पनि हैन, सन् १९७४ मा प्राशित भएको एक मनोवैज्ञानिक उपन्यास भूतहरुबाट १२१ पटकसम्म वहिस्किृत भयो । अमेरिकी लेखक रोवर्ट एम पिर्सिङ्द्वारा लिखित “जेन एण्ड द आर्ट अफ मोटरसाइकल मेन्टेनेन्स”ले जब बजारमा आफ्नु अनुहार देखायो, पाठकका लागि किताब हटकेक नै भयो । समीक्षकहरुले मेटाफिजिक्स अर्थात तत्वमीमाङ्साको गुण भएको किताब भने ।
त्यसपछिका स्न १९९१ मा प्रकाशित “लिला”ले पनि खैलाबैला मच्चायो । सन् २००२ मा प्रकाशित उनैको “लिला चायल्ड”ले पनि चर्चाको आकाशमा आफ्नो उपस्थिति अझै देखाइरहेको छ ।
उनको विश्वास छ– “मेटाफिजिक्स एउटा यस्तो रेष्टुरेन्ट हो, जसले तिमीलाई तीसहजार पेजको मेनु दिन्छ तर त्यसमा खाना हुदैन ।”
फेन्टासी र फिलोसोफी फ्युजनका लागि चर्चित अमेरिकी लेखक रिचर्ड डेभिड वचको “जोनाथन लिभिङ स्टोन सिगल”लाई भूतहरुले चालीस पटकसम्म रिजेक्ट गरिदिए । तर पनि उनले मेसो विराएन्, लेखिरहे । त्यही किताबमा आफूलाई खोजिरहे । प्रकाशका दैलाहरु चहारिरहे । अन्ततः सन् १९७० मा प्रकाशित भयो । दुई वर्षमा दशलाख भन्दा बढी किताबका प्रतिहरु विकेपछि त्यसको चर्चा अझै बढी हुन थाल्यो ।
सन् १९७२ देखि ७३ मा बिक्री भएको संख्या गन्दा अमेरिकाको इतिहासमै सबैभन्दा बढी विक्री भएको उपन्यासको हैसियत राख्यो चालीस पटकसम्म रिजेक्ट गरिएको किताबले । उनका “इलुजन, नो थिङ् वाइ चान्स, इस्ट्रेन्जर टु द ग्राउण्ड, अ गिफ्ट अफ विइङ्स” जस्ता किताबहरु चर्चाको शिखरमा रहे ।
लेखनका बारेमा उनको विश्वास सबैका लागि उत्साहप्रद मानिन्छ– “त्यो एमेच्योर लेखक नै प्रोफेशनल लेखक हो, जसले त्याग्दैन ।”
भूतहरुद्वारा खेदिएकी अर्की भाग्यमानी लेखिका हुन् म्याडलिनी लिङ्गेल । यी अमेरिका लेखिकाले पनि आफ्नो चर्चित पुस्तक “अ रिङ्कल इन टायम”का लागि धेरै भूतघरका दैला चाहरिन् । २९ औं पटकसम्म पनि भूतहरुले बेकारको किताब नै भनिरहे । ३० औं पटकमा उनको कृतिलाई एक भूतले विश्वास ग¥यो ।
सन् १९६२ मा प्रकाशित भएको “अ रिङ्कल इन टायम” पनि अमेरिकी साहित्य बजारमा हटकेक नै भयो । किताबले सम्मानीत अमेरिकी पुस्कारहरु न्यूवरी अवार्ड, सिकोया बुक अवार्ड, लेविस क्यारोल सेल्फ अवार्ड पनि प्राप्त ग¥यो ।
त्यसपछिका उनका “अ विन्ड इन द डोर, अ स्वीफ्ली टिल्टीङ् प्लानेट, मेनी वाटर्स” आदि सबै चर्चित र पुरस्कृत भए ।
यी लेखिका लेखनलाई सेवा ठान्छिन्– “किताब आउँछ र मलाई लेख भन्छ । मेरो योग्यताालाई उच्चतम प्रयोग गरेर किताबले भने अनुसार लेखेर सेवा गर्नु नै मेरो काम हो ।”
एउटा आश्चार्य नै मान्नु पर्छ । रुडियार्ड किप्लिङको एक लिखतलाई सान फ्रान्सिस्कोका परीक्षकले “आइ एम सरी मि. किप्लिङ्, वट यू जस्ट डण्ट नो हाउ टु युज द इङ्लिस ल्यावेज” भनेर फकाई दिएका थिए । तिनै लेखकले स्न १९०७ को नोबल पुरस्कार पड्काए ।
उनका पुस्तकका मुहारमा पूर्वीय दर्शन तथा कलाको संयोजन पाइन्छ । औपनिवेसिक कालको भारतमा सन् १८१२ मा जन्मिए पनि उनी ब्रिटेन मै हुर्केबढेका थिए । ब्रिटेन मै पढेलेखेका थिए ।
सन् १८९४ मा प्रकाशित उनका “द जङ्गल बुकदेखि किम, द मेन हु उड वी किङ्ग, क्याप्टेन करेजियस, द लाइट द्याट फेल्ड, द प्यान्टम रिक्सा” आदि किताबहरु चर्चित छन् ।
यी लेखक शब्दप्रतिको विश्वास यसरी व्यक्त गर्छन– “निश्चय नै शब्दहरु मानिसद्वारा प्रयोग गरिने शक्तिशाली औषधी हुन् ।”
“द ग्रेट ग्याट्स्वी” ! अमेरिकी साहित्य भण्डारको एक महान् कृति मानिन्छ । एफ स्कट फिट्जेराल्डको उक्त उपन्यासको केन्द्रीय चरित्र हो ग्याट्सवी । अमेरिकी सैनिक सेवाका युवा लेखक फिट्जेराल्डको“द ग्रेट ग्याट्स्वी” पाण्डुलिपी पढेर एक भूतले भनेका थिए– “तिम्रो किताब तब राम्रो हुनेछ जब तिमीले त्यो  ग्याट्स्वी पात्रलाई किताबबाट हटाउँछौ ।”
सन् १८९६ मा जन्मिएका लेखक जम्माजम्मी २९ वर्षका थिए । अन्ततः सन् १९२५ मा “द ग्रेट ग्याट्सवी” बिना कुनै संसोधन अर्को कुनै प्रकाशकबाट छापियो । त्यो वर्ष नै त्यो किताब २० हजार प्रति विक्यो । विस्तारै विस्तारै किताबले ख्याति कमाउदै गयो । किताबको आत्माको रुपमा रहेको एक अनौठो केन्द्रीय पात्र “ग्याट्स्वी” पाठकहरु तान्दै गयो । अन्ततः अमेरिकी स्कुलको पाठ्यक्रममै समेटियो ।
लेखनलाई “ग्याट्स्वी”  भाषामा उनले यसरी बुझेका छन्– “त्यसकारणले लेख्दैनौ, तिमी केही भन्न चाहन्छौ । यस कारणले लेख्छौ, तिमीले केही भन्नु छ ।”
बाल साहित्यमा आधारित “एण्ड टु थिङ्क द्याट आइ स इट वान मूलबरी स्ट्रिट” नामक किताब त्रीचालीस पटक भन्दा बढी प्रकाशकबाट रिजेक्टेड भएको थियो । भेनगर्ड प्रेशले सन् १९३७ मा प्रकाशित गरेको यो किताब अहिले पनि अमेरिकी वाल साहित्यमा मूल स्थान ओगट्न सफल भएको छ ।
लेखक डा. डिउस भन्छन् –“लेखकहरु आवश्यकता भन्दा शब्दहरु उत्पादन गर्छन र पाठकले पढ्नै पर्ने बनाउँछन् तर वेखुशीसाथ ।”
जर्ज अर्वेलको “एनिमल फार्म”लाई अमेरिकाको कुनै प्रकाशकले यसो भनेर फर्काइ दिएको थियो– “अमेरिकामा पशुहरुको कथा वेच्न असम्भव छ ।” यी ब्रिटिस लेखकले रुसको वोलभेसिक क्रान्ति र स्टालिनलाई व्यङ्ग गर्दै एक सुँगुरलाई केन्द्रीय पात्र बनाएर लेखको किताबलाई पशुहरुको कथा भन्ने सम्पादका आँखा र मस्तिष्कका बारेमा प्रश्न पनि उठेको थियो । भारतमा अँग्रेजी उपनिवेश चलेकै बेला भारतमै जन्मिएका लेखक जर्ज अर्वेलको यो एक कालजयी रचना मानिन्छ ।
अर्वेलले त्यतिबेला स्टालिनवादीहरुलाई मात्र खराब देखेनन् सहधर्मी लेखकहरुलाई पनि अत्यन्त खराब देखे । लेखक भएर लेखकहरुसँग उनी पनि खुशी छैनन् । भन्छन्–“लेखकहरु व्यर्थ, स्वार्थी र अल्छि हुन्छन् । उदेश्यको भित्री तहमा झूठ र रहस्यहरु हुन्छन् ।”
संसारमा भएका प्रमुख भाषाहरु मध्ये साठी भन्दा बढी भाषामा अनुदित भएर प्रकाशित भएको आत्मवादी उपन्यास “द डायरी अफ योङ् गर्ल” पनि एक प्रकाशन संस्थाका सम्पादकद्वारा रिजेक्टेट किताब हो । ती सानी केटीलाई ठूला भूतहरुले पत्याएनन् ।
जहाँ इच्छा त्यहाँ उपाय । डच लेखिका एन फ्रान्कको डायरी सन् १९७४ मा प्रकाशित भयो । नाजी शासनको आतङ्क र ज्यादाती झल्काउने उक्त उपन्यास पनि विश्वका चर्चित पुस्तकहरुको सूचिमा रहेको छ ।
लेखनले पीडाहरु विरेचित हुन्छन्– “जसरी म लेख्छु, लेखनले मभित्रको सबैथोक हल्लाउँछ । मेरा दुःखहरु हराउँछन् र साहसले पुनर्जन्म लिन्छ ।” यसै भन्ने गर्छिन् एन फ्रान्को ।
लेखन–गुणवत्ताको मापदण्ड के हो ? यो प्रश्नले सधैं औला ठड्याइरहेको छ । उत्तर जे भए पनि लेखन एक तपस्या हो । लेख्छु भनेर हैन समयले समाजका लागि लेखाउने एक कर्म हो लेखन । यो तपस्या–कर्म धर्म, मोक्ष वा प्राप्तिका लागि हैन समाजका लागि गरिन्छ । अर्थात समाजका लागि लेखिन्छ ।
लेखौं । यी रिजेक्टेड लेखकहरुबाट प्रेरणा लिउँ र सधैं लेखौं ।
(२०७० साउन २६ नागरिक)
हालः बोस्टन, अमेरिका । sprakashp9@gmail.com


No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !