Saturday, August 10, 2013

हाँडीका टाउँका ओढेका जिउँदा शालिकहरू

शिव प्रकाश
कति महान् छ मान्छे !
तम्तयार छ
तछाँडमछाँड छ
दौडादौड छ
प्रतिस्पर्धा छ–
मान्छे–मान्छेबीच
शहीदको देशमा
शहीद हुन ।

हिजो थोरै मान्छे
निष्ठा र आदर्शका लागि शहीद हुन्थे
आज धेरै मान्छे त्यही निष्ठा र आदर्शलाई
शहीद बनाएर शहीद भइरहेछन् ।

आहा,
कति महान् छ मान्छे ?
झन्झन् बढ्दैछ मान्छेमा
त्याग र वलिदानको भावना
हिजो मान्छे सिद्धान्तका लागि
प्राण त्यागेर शहीद हुन्थ्यो,
आज मान्छे स्वार्थका लागि
प्रण त्यागेर शहीद हुदैछ ।

थपिदैछन् शालिक भत्काइको देशमा
हाँडीको टाउका ओढेका जिउँदा शालिकहरु
शालिक जस्ता नयाँ मालिकहरू !


(अशृङ्गार कविता अभियान.....)
हालः बोस्टन, अमेरिका ।

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !