Friday, August 16, 2013

नदेखेको सपना लेखेर साकार पार्ने लेखकहरु

शिव प्रकाश
मान्छेको मनमा रचनात्मक विचारले शासन गर्नुपर्छ । सफलताले पछ्याउन थाल्छ । आत्मविश्वासले गन्तव्यमा पु¥याउँछ ।
यस्तै रचनात्मक विचार, सफलता र आत्मविश्वासले उत्कर्षमा पु¥यायो अमेरिकी लेखिका सुज्यान कोलिन्सलाई पनि । कमाइन एउटै किताबाट दश मिलियन डलर एकै पटक !
ट्रिलोजी साइन्स फिक्सन फर्मूलामा एक युवकको कथामा लेखिएको उनको उपन्यास हो– “द हङ्गर गेम्स ।” एडभान्चर शैलीमा लेखिएको यो किताब निक्कै जोखिमपूर्ण मानिएको थियो तर युवा पुस्ताले एक सुन्दर उपहारका रुपमा स्विकारे ।
सन् २०१२ को मध्यसम्ममा किशोरहरुले मन पराएका विश्वका शिर्ष सय उपन्यासमा ह्यारी पोर्टर पछि यो उपन्यासले आफ्नो स्थान बनाउन सफल भएको थियो ।
लेखनका विषयहरु आफ्नै ओरिपरी हुन्छन् । तिनलाई फिक्सनका आँखाले देख्न सकियो भने त्यसबाट कथा बन्न सक्छ । उपन्यास बन्न सक्छ । अर्थात जे पनि बन्न सक्छ । त्यसैले चर्चित लेखक सी एस लुइस भन्ने गर्थे– “लेखन यस्तो कला हो, त्यसबाट तिमी जे पनि बनाउन सक्छौ ।”
लुइसको भनाइलाई लुइस स्वयमले मात्र हैन अमेरिकी लेखक निकोलस स्पाक्र्सले पनि प्रमाणित गरेर देखाए । स्वास्नी पट्टिका हजुरबाको साठी वर्षे वैवाहिक जीवनशैलीबाट प्रभावित भएर प्रेम र रोमान्सको फमूर्लामा किताब लेखे उनले । नौलो र टाढाको कुनै विषयवस्तु खोजेनन् । जे देखे त्यसलाई कथानक बनाए । उपन्यास तयार भयो– “द नोटबुक ।” त्यो प्रेम र रोमान्सको नोटबुकले उनको जीवनशैली नै परिवर्तन गरिदियो । जब किताब तयार भयो, प्रकाशक संस्था टायम वारेन बुक ग्रुपले एक मिलयन डलर बैना दियो ।
“द नोटबुक” मा प्रकाशित भए पछि लेखक एकाएक मल्टीमिलियनर बने । १६ मिलियन पड्काए एउटै किताबबाट ।
नयाँ पुस्ताका अर्का अमेरिकी लेखकले पनि एउटै किताबाट १७ मिलियन डरल खल्तीमा हाले । एउटा कायर केटालाई केन्द्रीय पात्र बनाएर लेखेको किताबले जेफ केनेडीलाई मनग्गे चर्चा, अपार अभिनन्दनसँगै विशाल भौतिक सफलता पनि दिलायो ।
सन् २००७ मा पहिलो संस्करण प्रकाशित भएपछि उनको “डायरी अफ अ विम्पी किड” मा पपट्रोपियाले भिडियो गेम पनि बनायो । सन् १९७१ मा जन्मिएका यी लेखकको मूल विधा वालसाहित्य भए पनि कार्टुनिष्टका रुपमा पनि चिनिन्छन् यी । यो किताबको प्रसस्तीको कारण रियालिस्टिक फिक्सनको फर्मूलामा भएको कुरा समीक्षकहरुले बताएका छन् ।
विषय र वस्तुले अन्तस्करणलाई छुनुपर्छ, हरेक मान्छे लेखक हुनसक्छ । वकालती गर्दागर्दै  एउटी १२ वर्षे वालिकाबाट आफूलाई वलात्कार गरिएको र निर्ममतापूर्वक पिटिएको दूर्दान्त कथा सुनेर वैचैन भए जोन ग्रिसह्याम । ती अमेरिकी वालिकाको कथाले उनको अन्तस्करण छोयो । उद्वेलित बनायो । घचघच्यायो ।  नलेखी बस्न सकेनन् । यस्तै घटना र तिनको कानूनी उपचारका खोज र सनसनीपूर्ण तथ्य बटुल्न थाले ।  सन् १९८९ मा तीन वर्ष लागएर पहिलो किताब लेखे “अ टाइम टु किल ।”
त्यो किताबले उनलाई वकिलबाट लेखक पनि बनायो । आफ्नै पेशासँग सम्वद्ध कथावस्तुलाई खोजपूर्ण तथ्यहरुका साथ उनले सन् १९९१ मा अर्को उपन्यास लेखे “द फर्म ।” त्यसपछि “द फर्म”ले त डलरको पनि फर्म नै खोल्यो । १९ मिलियन डलर रोयल्टी पाए यी वकिकले त्यो एउटा किताबबाट ।
एउटा राजमिस्त्रीको कथालाई सनसनीपूर्ण रहस्यम बनाउँदै उपन्यास टुङ्ग्याउँने अमेरिकी लेखक डेन नून्ट्जले पनि “द गुड गाई”बाट १९ मिलियन डलर पड्काए । मनोवैज्ञानिक कम्प्लेक्समा रहस्यका कुलाकुलेसा बगाएर लेख्ने यी लेखकले पाठकहरुलाई सन्तुष्ट पारेको प्रतिकृया समीक्षकहरुले दिएका छन् । विश्वको ३८ भाषामा यिनका किताबहरु छापिएका छन् । “उसका किताबहरु डरलाग्दा हुन्छन् तर मान्छे हँसिलो छन् ।” यस्तै प्रतिकृया दिन्छन् पाठकहरु ।
४९ वर्षिय लेखक रिक रियोडेनले पनि सायद सोचेका थिएन्न् लेखेर मल्टी मिलियनर हुन्छु भनेर ।  धैरे कम लेखकले प्रयोग गर्ने पेन्थालोजी शैलीमा एडभान्चर, थ्रिलर, मिस्टेरी र फेन्ट्यासी घोलेर लेख्ने यी लेखककले “द पेरी ज्याक्सन एण्ड ओलम्पिएन्स”बाट २१ मिलियन डरल भित्र्याए ।
सन् २००५ बाट प्रकाशन सुरु भएको यो सिरिज सन् २००९ मा सकियो । सन् २०११ को अन्त्यसम्ममा पनि यो किताब वेस्ट शेलरको सूचिमा रहेको थियो । यो किताब सहित केन क्रोनिकल्स र हिरोज् अफ ओलम्पस गरी ३५ मिलियन भन्दा बढी बिक्री भएको कुरा बताइन्छ ।
स्टेफिनी मेयर । यी पनि अमेरिकन नै हुन् । यी आइमाले पनि सोचेकी थिइनन् लेखनबाट यति धेरै धन, मान र सम्मान पाइन्छ भनेर । डिसेम्बर १९७३ मा जन्मिएकी युवावयकी यी लेखिकाले आफ्नो लेखनमा रोमान्सलाई प्रमुखता दिइन । त्यसमा सबैले प्राय प्रयोग गर्ने फेन्ट्यासी मिसाइन । अनि युवा पाठकको रुचिलाई मस्तिष्कमा खाँदेर लेख्न थालिन् युथ फिक्सनहरु ।
लेख्दालेख्दै सन् २००५ देखि २००८ सम्ममा “ट्विलाई” सिरिजको लेखनी समाप्त भयो । सरस्वतीको कृपा पाएकी यी लेखिकाको यो श्रृङ्खलाको समाप्तिसँगै लक्ष्मीको कृपा सुरु भयो । संसारमै चिनियो उनको किताबसँगै उनको नाउँ र मुहार । ३७ भाषामा उल्था भएको यो किताब संसारका पाठकका मस्तिष्कमा चलखेल गर्न थाल्यो । उनले यो किताबाट २१ मिलयन डलर जम्मा गरिन् । सन् २००८ को विश्वका प्रतिभाशाली व्यक्तिमा यी युवतीले आफ्नो नाउँ ४८औं स्थानमा लेखाएकी थिइन् ।
लेखन कलालाई सुधार्न दशौं वर्षसम्म मेहनत गरे पनि जेनेट इभानोभिचका पहिला दुई उपान्यसहरु फ्लप भए । लेखन जीवनको धेरै पछि रोमान्स फर्मूलामा तयार गरिएको दोस्रो उपन्यास “फल प्ले” को पाण्डुलिपीका लागि एक प्रकाशकबाट पहिलो पटक दुई हजार डलर पाउँदा उनको खुट्टा भुइँमा थिएनन् ।
साधरणतया अरु धेरै लेखकले प्रयोग गर्ने लेखन फर्मूला रोमान्स र रहस्य कै प्रयोग गरेर लेख्ने जेनेट इभानोभिचले पनि अन्ततः लेखेरै ठूलै रकम कुम्ल्याइन । “वान् फोर द मनी”– एक वाउन्टी हन्टर आइमाईको अपराधिक कथालाई लम्ब्याउँदै सन् १९९४ देखि सन् २०११ सम्म आइपुग्दा स्टेफनी सिरिजको २० औं संस्करणले बजारमा मुख देखायो । यो किताबको मुखसँगै, डरलको मुख पनि मजाले देखिन् लेखिकाले । हेर्दाहेर्दै उनका बैंक खातामा २२ मिलियन डरल जम्मा भयो ।
“दिनको चारदेखि छ घण्टा पढ र लेख । यदि तिमीले त्यति समय दिन सकेनौ भने नदेखे हुन्छ राम्रो लेखक बन्ने सपना ।” यसै भन्ने गर्छन् २८ मिलियन डरल रोयल्टी हात पार्ने लेखक स्टिफन किङ् ।
तर उनले जम्माजम्मी दुईहप्ता मात्र लगाएर लेखेको होरर अर्थाथ विभत्स शैलीको उपन्यास “क्यारी”ले उनको जीवनमा डरलको मूल फुटाइदियो । सन् १९७४ देखि विभिन्न समयमा प्रकाशित हुदै आयो । अमेरिकी स्कुलका लागि प्रतिबन्धित पनि भयो । अन्तत पछिल्लो तथ्याङ्क अनुरुप चार मिलियन भन्दा बढी बिक्री भयो र एक साधरण लेखक किङ्लाई एक असाधारण धनी लेखक पनि बनायो ।
सन् १९७३ मा “गोइङ होम”देखि २०१३ को “विनर्स”सम्म आइपुग्दा ९१ वटा उपन्यास लेख्ने लेखिका डेनियल स्टिल पनि अमेरिकी नै हुन् । । रोमान्सलाई नै मूलधार बनाएर लेख्ने यी लेखिकाको “द हाउस अन द होप स्ट्रिट” ले जीवनमा डरलको खोलो बगाइदियो । उपन्यासकी यी फ्याक्ट्रीले लेखनसँगै डरलको पनि फ्याक्ट्री खोलिन् । रोयल्टी वापत ३५ मिलियन डरल पड्काइन ।
उनका २७ उपन्यासहरु चर्चाको शिखर चुम्न सफल भए । न्यू योर्क टायम्सको लिस्टमा अझै १४ औं वेस्ट सेलिङ्  किताब लेखकको सूचिमा छिन् यिनी । यिनका किताब विश्वका विभिन्न २८ भाषामा अनुदित भएर प्रकाशित भएका छन् ।
एक अश्वेत अफ्रिकन अमेरिकनलाई गुप्तचर अधिकृतका रुपमा केन्द्रीय पात्र बनाएर लेखेको किताबले त्यत्रो सफलता पाउला भनेर जेम्स प्याटर्सनले सायद कहिल्यै सोचेका थिएनन् । लेखेर विश्वका दोस्रो धनी लेखक बनेका यी अमेरिकी लेखक अनुपातमा थोरै लेखेर धेरै सफतला र सम्पत्ति कमाउनेमा पर्छन् । उनको ं“क्रस”ले संसारै क्रस गरेर पाठकको मनमस्तिष्कलाई पनि क्रस गर्दैछ ।
मार्च १९४७ न्यू योर्कमा जन्मेका यी लेखकलाई पनि लेखनले डलरको बाढी लागाइदियो । अप्रिल २०१० देखि मे २०११ सम्ममा यिनले ८४ मिलियन डलर कमाए किताबबाट । जे के रोलिङ् पछि लेखेर सर्वाधिक धनी हुने लेखक यिनै हुन् । अपराधलाई मानवीय मनोविज्ञानले केलाएर लेख्ने यी  लेखक एउटा विज्ञापन अफिसरको रुपमा काम गर्थे । त्यो काम छोडेर पूर्णकालीन लेखक बनेका जेम्सको आरिस गर्ने लेखकहरुको प्रतिकृया यस्तो छ– “अ टेरिवल राइटर, बट भेरी सक्सेस !”
यिनको कथा अर्कै छ । यिनी भन्छिन् “म धेरै तल थिएँ, त्यसैले केही प्राप्त गर्नुछ भन्ने लाग्यो । सायद लागे अनुसार नै गरिन् तिनै वृटिस लेखिका जे के रोलिङ्ले । संसारमै उघुम मचाइन् यी आइमाईले । एउटी साधरण आइमाई असाधरण भइन् । सर्वकालिन सर्वसम्पन्न लेखिकाका रुपमा चिनिइन् । लेखनको इतिहासमै नयाँ इतिहास लेखाइन् ।
एक किशोरको कथामा स्वैरकल्पना, रहस्य र चमत्कारिक यथार्थको फ्यूजन गरेर लेखिएको ह्यारी पोर्टर अहिलेसम्मै संसारभरी सर्वाधिक विक्री भएको  किताबमा दरिएको छ । उनले प्रसस्तिसँगै एक विलियन डरलभन्दा बढी कमाएको अनुमान छ ।
उनको लेखनलाई कसैकसैले भाग्यको खेल पनि भनेका छन् । किन भने सन् २००८ को “ह्यारी पोर्टर”ले संसारालाई फ्लप गरिदियो तर सन् २०१२ को उनको “द क्याजुयल भ्याकेन्सी”लाई संसारले फ्लप गरिदियो । ह्यारी पोर्टर जस्तै उत्सुकतापूर्ण हेरिएको द क्याजुयल भ्याकेन्सीलाई बेखुशीपूर्ण र भद्दा भनिदिए समीक्षकहरुले ।
लेखन जगतमा एउटा प्रश्नले जरो गाडेको छ । किन केही राम्रा किताब पनि कहिले काही विक्दैनन् ? यो प्रश्न नेपाली भूमिमा मात्र हैन, अन्तर्राष्ट्रिय बजारमा पनि डुलिरहेको छ ।
कृति छापेर मात्र कृतिको उज्यालोले पाठकलाई छुदैन । त्यो उज्योलो पाठक समक्ष पु¥याउँन संचार र बजारको भूमिक अहम् हुन्छ । बजार व्यवस्थापन हुन नसक्दा र संचारको नजरमा नपुग्दा उम्दा कृतिहरु पनि बोरामा कुहिएर बसेका छन् । त्यही बोराभित्र लेखकका आत्मा पनि ढुस्सिएर बसेका छन् ।
sprakashp9@gmail.com

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !