Wednesday, June 4, 2014

रमेश खरेललाई कारबाही गर्नै पर्छ

By शिव प्रकाश, on June 3rd, 2014 (Mysansar)

-शिव प्रकाश-
“अज्ञानीहरुका लागि मात्र,
सबै शीर्ष नेताहरुको उपस्थितिमा भ्रष्टाचारी घोषणा गर्ने पनि मैं हुँ । …. उहाँले पाएको उपाध्यक्षको मतमा एउटा मेरो पनि छ । पछिल्लो समयमा केपी र वामदेवको समीकरण बनाउने काममा पनि म सक्रियतापूर्वक लागेकै हुँ ……।” (यहाँ भष्टाचारी भनेर घोषणा गरिएका अमूर्तपात्र हुन् गृहमन्त्री वामदेव गौतम)।
नेकपा एमालेका ज्ञानी नेता प्रदीप नेपालको मे २७, २०१४ को फेसबुक स्ट्याटस्को अंश हो यो । ज्ञानी नेताको यो स्ट्याटसले आफ्नै पार्टीका अज्ञानी नेता तथा वर्तमान गृहमन्त्री बामदेवलाई भ्रष्टाचारी करार गरेको छ । यो साहसका लागि ज्ञानी नेतालाई धन्यवाद भन्नै पर्छ।
‘अघिल्लो दुईपटक गृह मन्त्रालय सम्हाल्दा लागेको अनुचित आरोपबाट मुक्ति पाउने गरि म यसपाला काम गर्छु ।’ गृहमन्त्री वामदेवले फागुन १३ गते पदीय मर्यादा र निष्ठाको सपथ खाँदा उनको त्यही मुखबाट ओकलिएका शब्द हुन् यी ।
उनको लचिलो मुखबाट ओकलिएका शब्दबाट स्पष्ट हुन सकिन्छ आफ्नै पार्टीले गरेको भ्रष्टाचारी करारलाई वामदेवले यहाँ स्विकारेका छन् । अनुचित कार्यबाटै अनुचित आरोपको जन्म भएको कुरा उनको मुखले नबोले पनि आत्माले पक्कै बोलेकोले हुनु पर्छ ।
अहिले उनै भ्रष्टाचारी वामदेवको सल्लाकार नियुक्त भएपछि निष्ठालाई दालभात सम्झेर ती ज्ञानी नेताको त्यही सदाचारी मुखले बडो स्वादसँग खान थालेको छ । उनै वामदेव पुनः गृह तथा उपप्रधानमन्त्री भए पछि सगरमाथा जस्तो कञ्चन र उँचो देख्ने तत्वज्ञान र दिव्यचक्षुलाई पनि मान्नै पर्छ ।
‘मेरो यो कार्यकालमा भ्रष्टाचार विरुद्ध शून्य सहनशीलता हुनेछ । नेताहरुकाहाँ नधाउनु र मेरो चाकरीमा नआउनू । त्यस्तो गरेको थाहा भयो भो मूल्याङ्कनमा पछि पर्नुहुन्छ। कुनै पनि हाकिमले अब आइन्दा साना प्रहरीलाई ‘तँ’ नभन्नु कम्तीमा ‘तिमी’ भन्नु ।’ तीनताक तिनै वामदेवको मुखबाट नेपाल प्रहरी लागि महावाणीका यी मघुरमन्त्रणा पनि भए ।
वामवाणी सुनेर जगतै चकित भो । धेरैले ठाने व्याधाबाट वाल्मिकी भएछन् वामदेव । ज्ञानीहरुको सत्संगतले ज्ञान प्राप्ति भएछ ।
त्यसको ठीक चालीस दिन पछि–
‘स्वाभिमान गिर्ने भएर होला मेरो कार्यालय र अफिस कही पनि नआएको । सिंहदरबारको मन्त्रालय र ललितपुरको मन्त्री क्वार्टर त्यति टाढा छैन, तर काठमाडौंका एसएसपी आजसम्म मलाई भेट्न आएको छैन । उसले मलाई भेट्दा स्वाभिमान गिर्छ भन्ने ठान्या होला । कुनै कार्यक्रममा समूहमा आएर सलाम गरेको भए थाहा भएन ।’
‘तँ’ नभन्नु भन्ने वामवाणी धुलिखेलमा ‘तँ’बाटै सुरू भयो । कति छिट्टै नियत र अभीष्ठाको आगोमा जलेर अँगार जस्तो भयो त्यो निष्ठा । आफ्नै विभागीय कर्मचारी एसएसपी रमेश खरलेमाथि खन्याए वामदेवले अँगार जस्ता ती कालाकुण्ठा । चलीस दिन अघि मधुरवाणीको महक छर्ने वामदेवको त्यही महान् मुख इँटाभट्टाको चिम्नी जस्तो भयो । अभीष्ठा र अभीप्सा कालो धुवा ओकल्यो त्यो मुखले ।
भोलिपल्ट चैत २३ गते–
‘फोर्समा चेन अफ कमाण्ड हुन्छ, त्यसको मेन्टेन भएन भने प्रहरी बिग्रन्छ भन्ने मैले बुझेको छु । फूलको गुच्छा बोकेर हाकिम, मन्त्री र नेताको घरघर धाउने प्रवृत्तिले नै प्रहरी बिग्रिएको हो । म वामदेव गौतमज्यू मात्र हैन कुनै गृहमन्त्री भेट्न गएको छैन, जाँदा पनि जान्न । कानुनले दिएको अधिकार र बैधानिक आदेश अनुसार काम गर्ने बानी भएकाले मन्त्रीकहाँ गइरहनु पर्ने जरुरत छैन । आफ्नो ऊर्जा र समय ठूलाबडलाई अनुहार देखाउनमै खर्चिनाले व्यवसायिकतामा आघात पुगेको हो, म त्यसो गर्न सक्दिन ।’ प्रहरी अधिकृत एसएसपी रमेश खरेलले पत्रकारसामू यसरी स्पष्ट पारे आफ्नो कार्यशैलीलाई ।
वामबोलीको चरितचर्चामा रूमलियो नयाँ नेपाल। चरितार्थ गरो वामबोलीले । जनताको नजरमा उनी फेरी कालो सूचिमा परे तर उनको कालो सूचिमा भने एक प्रहरी अधिकृत परे । ६७ हजार दुईसय ८७ (नेपाल प्रहरीको वेभसाइट) संख्या रहेको नेपाल प्रहरी संगठनभित्रको एक अधिकृत रमेश खरेल विरुद्ध खनिन थाले वामदेव ।
वामदेवले काठमाण्डौं प्रहरी प्रमुख वरिष्ठ प्रहरी उपरिक्षक रमेश खरेल चेन आफ कमाण्ड भन्दा बाहिर गएको भनि टिप्पणी गरिरहे ।
चैत २९ गते–
‘मलाई त निश्चित रुपमा चेन आफ कमाण्डमै चलेको जस्तो लाग्छ।’ प्रहरी संगठन प्रमुख उपेन्द्रकान्त अर्यालले कैलालीमा आयोजित प्रहरी संगठनको एक कार्यक्रममा वामदेवको भनाइ यसरी खण्डन गरे । अर्यालको यो भनाई वामदेवको वामनपीडामाथि झन् अग्निहोत्री भइदियो ।
एमालेको भातृसंगठन युवासंघको आडमा गुण्डार्दी गर्नेलाई पक्रे खरेलले । एउटा प्रहरी अधिकृतमाथि खनियो एमाले । झन् आगो भए वामदेव तर झन् चम्किए रमेश । मिडियामा चम्किए । जनताका आँखामा चम्किए । रमेशको चमकमा वामदेवका आँखा तिरमिराउन थाले । वामदेवका आँखाको तारो भए ।
गुण्डागर्दीमा विश्वास गर्ने काँग्रेसभित्रको एउटा खेमाको आडमा कानून हातमा लिनेलाई पनि बाँकी राखेनन् खरेलले । पक्रेर हाले खोरमा । भ्रष्ट काँग्रेसहरुको पनि निशाना भए उनी ।
‘म भन्छु। नेपाल प्रहरीको अब प्रमोसनको बेला आएको छ। सात महिनापछि बल्ल गाँठो फुक्यो नेपाल प्रहरीको। माननीय मन्त्री ज्यु, भ्रष्टाचारीलाई प्रमोसन नदिनुस्। मलाई आशा छ, यति गरेपछि उहाँहरुलाई पुग्छ होला, यति भनेपछि उहाँहरुलाई पुग्छ।
अहिले सुटकेसहरु बोकेर पावर सेन्टर जाने, चाकडी गर्ने, मलाई प्रमोसन गरिदे अथवा फलानोलाई प्रमोसन गरिदे भनेर ‘हजुरकहाँ पनि खुब आए होला। जो हजुर कहाँ भिजिट गर्छ, ती अपर्चुनिस्टहरु हुन्। पावरसेन्टरमा जाने कर्मचारी अपर्चुनिस्ट हुन्। यसले तपाईँलाई मात्र हैन, हाम्रो नेपाल आमालाई पनि असर गर्छ। कृपया यसमा ध्यान दिनु होला। नेपाल प्रहरीको प्रमोसनमा भ्रष्टाचारीलाई प्रमोसन नदिने र इमान्दारलाई प्रमोसन दिएर एउटा एक्साम्पल सेट गरिदिनका लागि म अनुरोध गर्दछु।’
जेठ १० गते शनिवार महेन्द्र पुलिस क्लवमा भएको ‘भ्रष्टाचार विरुद्ध अभिव्यक्ति अभियान’ भन्ने कार्यक्रममा भ्रष्टाचार विरुद्ध बोले खरेल ।
तर यहाँ रमेश खरेल बोलेको हैन, एउटा सत्यले आफैं मुख फोरेको हो । एउटा कर्तव्यनिष्ठ आत्मा बोलेको हो । एउटा स्वच्छ छवि बोलेको हो ।
खरेलले बोल्दा कार्यक्रममा बेस्सेरी ताली बज्यो । तर उता वामदेव कार्यकक्षबाट झ्याली पिटियो– रमेश खरेललाई तुरुन्त कारबाही गर्नु भनेर । माननीय वामदेवको एकल इजलासको निर्णय गृहसचिव सूर्य (?) सिल्वाल हुदै प्रहरी प्रधान कार्यालय पुग्यो । बिभिन्न सामाचार माध्यमले यो समाचार प्रकाशित गरे।
रमेश खरेलले चेन अफ कमाण्ड तोडो । अमर्यादित अभिव्यक्ति दियो । दोषी करार गरेर कारबाहीको कोर्रा खल्तीमा बोकेर हिडे वामदेव । नगरमा वामदेवका पुत्ला जल्न थाले । तर वामदेवलाई झुम्राको पुत्लो तातो न भुत्लो !
कारण– गृहभित्र हुने अपारदर्शी सरुवा, बढुवा र लेनदेनमा खरेल केहीहदसम्म चोरका शत्रु चन्द्रमा जस्ता भएका छन् । अर्को कारण– प्रहरी संगठनमा खरेल पूर्णीमाको जून भएर झुल्किएका छन् । औसीको रात कुर्ने नेता, गुण्डा, डन र प्रहरी प्रशासन भित्रका भ्रष्टहरू भित्रभित्रै छटपटिएका छन् ।
ठीक छ माननीय वामदेवज्यू, रमेश खरेललाई कारबाही हुनु पर्छ– चेन अफ कमाण्ड तोडेर पदीय मर्यादा विरुद्ध अमार्यादित अभिव्यक्ति दिएकोमा । तर भ्रष्टाचार विरुद्धको कार्यक्रममा भ्रष्टाचार विरुद्ध अभिव्यक्ति दिनेलाई कारबाही गर्ने वामदेवले भ्रष्टाचारको सर्मथनमा डंका पिट्नेलाई फूल–माला, अविर र दोसल्ला ओढाएर रथारोहण गराउनु पर्छ । सहरमा घुमाउनु पर्छ । जयजयकार गर्नु पर्छ । तब मात्र रमेश खरेललाई कारबाही गरे माननीय वामदेवको एकल इजलासको निर्णयले सम्मान पाउला !
गृहमन्त्रीको आदेश अनुसार कारबाही गर्नेले पनि बुझ्न जरुरी छ कि– लोकतान्त्रिक पद्धति अपनाएको देशका जनतालाई रमेश खरेलका अभिव्यक्ति मर्यादाहिन भएकोले कारबाही गरिएको कुरा भन्न सक्नु पर्छ । र, वामदेवका अभिव्यक्ति चैं मर्यादापूर्ण र शिरोधार्य भएको स्विकार्न सक्नु पर्छ ।
हुन त लाज–घिन र डर भनिन्छ नि ! वास्तवमा लाज–घिन नभएपछि समाजसँग डर पनि हुदैन । डर नभएको मान्छेले जहाँ जहिले पनि आफ्नो अनुहार देखाइरहेको हुन्छ । इमान्दारीको पाठ अरूलाई पढाइरहेको हुन्छ । समाज र सँस्थामा यस्तै निडरहरूको बिगबिगी छ । समाजमा सधैं सयौं कौरवहरू छन् । सत्यवादी पाण्डवहरू सधैं न्युन छन् ।
डर भनेको वास्तवमा लज्जा हो । त्यो नभए पछि डर हुदैन । लज्जाले हो- मान्छेलाई नैतिक र इमान्दार बनाउने । निष्ठा र कर्तव्यपरायणको बाटोमा हिडाउँने । राज्य सधैं लज्जाको परीक्षामा अनुत्तीर्ण भएको छ । यो प्रसंगमा पनि भयो भने अचम्म नमाने पनि हुन्छ ।
नेपाल प्रहरीको शिरमर्दन कसरी गरिन्छ यहाँ एउटा प्रसंग उदृत गर्न चाहन्छु । “नेपाल प्रहरीका र सशस्त्र प्रहरी बलका हुनेवाला प्रमुखले भने तत्कालीन गृहमन्त्री कृष्णप्रसाद सिटौला र कांग्रेसी नेताहरुलाई ब्रिफकेशका जादु देखाउन सफल भए।” सशस्त्र प्रहरीका पूर्व एआइजी रविराज थापाको यो भनाइ (सेतोपाटी)ले नेपाली राजनीति र प्रहरी संगठनभित्र लज्जाको चीरहरणा कसरी भै रहेको रहेछ ? स्पष्ट हुन्छ ।
भनिन्छ– ज्ञानमा सबैभन्दा ठूलो ज्ञान सामान्यज्ञान अर्थात “कमनसेन्स” हो । मान्छेमा “कमनसेन्स” भएन भने लज्जा पनि हुदैन । “कमनसेन्स” नभएकोलाई “ननसेन्स” पनि भनिन्छ । यस्तै लज्जाहिन “ननसेन्स” विडम्बनापात्र हुन् वामदेव । यो उनी आफैंले बनाएको परिचय हो । जसले जति चोख्याउन खोजे पनि वामदेवको “कमनसेन्स” कति हरेछ भन्ने कुरा नयाँ पत्रिकाले छापेको “गृहमन्त्रीको जेब्राक्रस” शीर्षकको तस्वीरले देखाउँछ ।
गृहमन्त्री वामदेवसँग अझै कही कतै एकपित्को “कमनसेन्स” छ भने त्यो अपराध वापतको जरिवाना तिर्ने वा भोग्ने सुझाव दिन्छु । त्यसपछि रमेश खरेललाई कारबाही गर वामदेव । नछोड त्यो मर्यादाहिन मानिसलाई । जसले तिमीलाई भेट्न आएन । ठोक रमेश खरेलालाई त्यो अक्षम्य अपराधका लागि । अब पालना गर्नु पर्दैन तिमीले फागुन १३ गते सपथ(?)सँगै खाएका शब्दको । खानु थियो खायौ, सकियो । तिमी आफैलाई थाह छ तिमीले कति (अ)नुचित कार्य ग¥यौ ? उतार त्यो अटेरी रमेशको वर्दी ।
बोल, एमालेका ज्ञानीहरु ! कसरी पखालियो वामदेवको दाग ? केले घोएर बनायौ उनलाई गाई ? हे ! ज्ञानी एमालेहरु, जवाफ देउ पहिले । त्यसपछि च्यातिदेउ आफ्ना नेताको इच्छा पुरा नगर्ने त्यो प्रहरी अधिकृत थोत्रो वर्दी ।
हो, आफ्नो संगठन र आफ्ना सिनियरहरुका बारेमा मुख नखोल्ने कठोर अनुशासनमा बाँधिएका सुरक्षा अंगभित्र खरेलका यस्ता अभिव्यक्ति अराजक मानिन्छन् । तर मुख बाँधेर मिलिभगतमा धन्दा चलाउने स्वराजक मानिन्छन् भने खरेल जस्ता अराजकलाई कडाभन्दा कडा कारबाही गर्नै पर्छ । सत्यलाई भष्मिभूत बनाउन कौरवले लाक्षागृह सल्काए जस्तो शिरमा सत्यमेव जयतेको टोपी लाएको सत्य र कर्तव्यपरायणताको त्यो वर्दीमा आगो सल्काउनै पर्छ । भष्मीभूत पार्नै पर्छ त्यसलाई । स्वाभिमानलाई अभिमान देख्ने आँखाले ढाल्नै पर्छ त्यो रमेश खरेलको अभिमानलाई ।
चर्चित गृहमन्त्री (अनेक चर्चिकलाले) वामदेवलाई नटेर्ने को हो रमेश खरेल ? त्यस्तालाई कारबाही गर्नै पर्छ । सुधारको पक्षमा आवाज उठाउनेलाई कुल्चनै पर्छ र दवाउनै पर्छ । किन चाहियो सुधार ? किन चाहियो प्रहरी संगठनलाई जनविश्वास ? किन बन्नु परो प्रहरी संगठन जनरक्षक ? यो त सरकारको रक्षा र गृहमन्त्रीको पार्टीलाई चुवान जिताउने संसाधन मात्र हो । जसको पुष्टी यहाँ उद्रित यी वाक्यशंले गर्छन् ।
“गौतमको निर्देशन अनुसार गृह सचिव सूर्य सिलवालले आयोगलाई पत्राचार गर्दै ‘खरेलको सरुवा नभए आगामी असार ८ गते काठमाडौं २ मा हुने उपनिर्वाचनमा असर पर्ने जिकिर सहित’ सरुवा स्विकृती मागे ।” विभिन्न पत्रपत्रिकाले उदृत गरेका अंश हुन् यी।
लोकतन्त्रमा जनताको सूसुचित हुने अधिकारको राज्यले न्यूनतम सम्मान गर्छ भने रमेश खरेललाई सरुवा नगरे उपनिर्वाचनमा के असर पर्छ ? खुलस्त पार्नु पर्छ । एक प्रहरी अधिकृतसँग चुवानी लगनगाँठो कहाँ र कसरी बाधिएको हुन्छ ? स्पष्ट हुन जरूरी छ । भलै निर्वाचन आयोगले स्विकृति दिएन तर के गृहमन्त्री र गृहसचिवसँग जवाफ दिने हिम्मत छ ? हैन भने सुरक्षासंयन्त्रभित्र यस्तो गम्भीर प्रश्न किन उठाइयो ? को हुन्छ यसको जिम्मेवार ?
आज राज्यको सर्वोच्च न्यायिक निकाय स्वयंले न्याय खोजिरहेको बेला न्यायको परिकल्पना गर्नु आकासको तारा टिप्नु जस्तो भएको छ । यो अवस्थामा समस्त प्रहरीप्रतिको जनविश्वास झन् गुम्दैछ । गुमाएको जनविश्वासलाई रमेश खरेल जस्ता केही प्रहरी अधिकृतले संजीवनी दिएर धेरथोर भए पनि बौराएका छन् । गर कारबाही रमेश खरेललाई र बनाउ नपुंशक सिंगो प्रहरी संगठनलाई । सायद यही चाहिएको छ वामदेव प्रशासनलाई !
अन्त्यमा एउटा अर्को प्रश्न फेरि उठ्छ- के गरे रमेश खरेलले सधैं प्रशंसा र चर्चा पाउने त्यत्रो काम ? अनि के गरे उनले दण्डित हुने त्यस्तो अपराध ?
त्यस्तो केही गरेका छैनन् रमेश खरेलले । तै पनि किन यति चर्चित र प्रंशसित छन् ? किन ?
केही गर्नु पर्दैन असल हुनलाई, खराब मात्र नगरे पुग्छ । वस्, त्यति नै गरेका छन् रमेश खरेलले । मात्र कर्तव्य निभाएका छन् । राज्यमा कर्तव्य अपराध हुन्छ भने उनलाई कारबाही गर्नै पर्छ ।
फेसबुकमा वामदेव विरूद्ध लेख्नेलाई कारबाही गर्ने वामप्रशासनले सडकमा उत्रिएका जनतालाई पनि छोड्नु हुन्न । कारबाही गर्नै पर्छ ।
http://www.mysansar.com/2014/06/12761/

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !