Sunday, July 6, 2014

लेखक भर्सेस राज्य

लेखक भर्सेस राज्य

शिव प्रकाश print

  • 29
     
     
    16
     
     
    1
    Google +
     
    48
     

GET NEWS ALERTS

‘द रनवे जेनेरल’। अमेरिकाका जल्दाबल्दा पत्रकार माइकल माहोन हस्टिङ्ले सन् २०१० मा एउटा प्रोफाइल न्युज लेखे। अफगानिस्तान युद्धको बारेमा ‘रोलिङ् स्टोन’ पत्रिकामा लेखिएको त्यो न्युज अत्यन्त चर्चित भयो। त्यसका लागि उनले अमेरिकाको एक सम्मानित पत्रकारिता पुरस्कार ‘जर्ज पोल्क एवार्ड’ पाए।
त्यो प्रोफाइल रिपोर्टिङ अफगानिस्तानका लागि तात्कालीन नेटो कमाण्डर तथा अमेरिकी जेनरल स्टेन्ली म्याकक्रिस्टलको कमजोरीका बारेमा थियो। त्यसमा अमेरिकी सरकारको पनि त्यतिकै आलोचना गरिएको थियो। फलतः जेनरल र सरकार अति आलोचित भए। जेनरल राजिनामा दिन बाध्य भए। लगत्तै तीन वर्षपछि ३३ वर्षीय हस्टिङ्को मृत्यु भयो। मृत्युको कारण कार दुर्घटना भनिए पनि त्यसको पछाडि अमेरिकी सरकारको हात हुनसक्ने धेरै आँकलनहरु आए। सत्य गर्भमै रह्यो!
इङ्ल्याण्डका राजा हेनरी आठौं (सन् १४९१–१५४७) का पालामा युटोपियाका जन्मदाता तथा दार्शनिक लेखक सेन्ट थोमस मोर (१४७८–१५३५) लाई जेल हालियो। स्वामीभक्ति (राजाप्रति) र राज्यनिष्ठाको प्रश्न उठाइयो।
फ्रान्स्वाँ मरी अरुएत फ्रान्सेली क्रान्तिका एक महान् जागरणकर्ता तथा समाजसुधारक थिए। तत्वज्ञानी दार्शनिक जसलाई जगतले भोल्टेयर (सन् १६९४–१७७८) का नाउँले चिन्छ। सरकार तथा क्याथोलिकवादी माथि गरिएको एक ओजस्वी लेखन–आक्रमणका कारण उनले पटकपटक जेल सजाय र देश निकाला बेहोर्नुपर्‍यो।
सन् १९७० का नोबेल पुरस्कार विजेता एलेक्सेन्द्र सोल्जेनित्सिन (सन् १९१८–२००८)लाई वालाबोस तथा खोजाइन अर्थात स्वामी(स्टालिन)का बारेमा विमतिपूर्ण कमेन्ट गरेकोमा सन् १९४५ मा जेल तथा श्रम शिविरमा कोचियो। स्टालिनले पछि उनलाई देश निकाला गरे। कम्युनिष्ट तानाशाह स्टालिनको काल पनि लेखक, कवि तथा पत्रकार विनाशकालका रुपमा रह्यो। उनले हत्या गरेका दुई करोड मान्छेभित्र धेरै लेखक, कवि पनि थिए।
लेखकहरूको सबैभन्दा ठूलो विनास नाजीकालमा भयो। १९४० को दशकमा हिटलरको ‘होलोकाष्ट’ मा दशलाख बालबच्चासहित एक करोडभन्दा बढी मानिसको हत्या गरियो। ती हत्या ग्यास च्याम्बर, श्रमशिविर र खुलारुपमा गरिए।
तानाशाहहरुको पतनसँगै राजनीतिक उदारताको उदय भए पनि लेखकहरुप्रति राज्य उदार हुन नसकेका घटनाहरु घटिरहे। पछिल्ला दिनमा माल्दिमका लेखक मोहमद नसिद (जो पछि राष्ट्रपति पनि चुनिए)लाई गैयुम सरकारले जेल हाल्यो। सन् २०१० को नोबेल पुरस्कार विजेता चीनिया लेखक लुई जिआबोले पुरस्कार जेलबाटै स्वीकारे।
वेलारुसका पत्रकार अलेह व्यावेनिन १५ वर्षसम्म शासक अलेक्जेन्डर लुकासेन्कोसँग लडे। अन्ततः सेप्टेम्बर २०१०मा उनको हत्या गरियो। उनी आफ्नै घरमा झुण्ड्याइएको अवस्थामा भेटिए। त्यसै वर्ष मेक्सिकोमा आठ पत्रकार मारिए। तीन अझै बेपत्ता छन्। सरकार विरोधीका रुपमा चिनिएका लेखक बहराइनका अली अब्दुलेमान र रसियाका इरेक मुर्ताजिन ‘प्यानल कोलनी’मा अझै सायद बन्दी अवस्थामै होलान्। प्यालेस्टाइनका बारेमा कविता लेखे वापत तल अल–मलोही पनि सिरियामा बन्दी भए।
समयले एक्काइसौं शताब्दी एकचौथाइ पार गर्न लाग्दा पनि प्रजातान्त्रिक मानिएका राज्य अझै लेखकप्रति उदार हुन नसकेका उदाहरण अरु पनि छन्। थाई राजतन्त्रको आलोचना गरिएको भनेर लेखक सुविचा थाकोरलाई दशवर्ष जेल सजाय दिइयो। ‘होली’ लाई अवहेलना गरेको भनेर इरानी मूलका क्यानडाली लेखक होसेन डेराकहसनलाई इरान पस्ने बित्तिकै कालकोठरीमा कोचियो। यस्तै उदारहण छन् इरानकै अर्का लेखक फराक सार्कूनी र टर्कीका ओरहन पाकुम।
क्रान्तिबिना शान्ति हुदैन भन्ने पङ्तिका लागि कवि सिद्धिचरण श्रेष्ठले आठ वर्ष जेल बस्नु पर्‍यो। राज्य र लेखकबीचको सम्बन्धका बारेमा यी प्रतिनिधि घटना मात्र हुन्। धेरै नेपाली कवि, लेखक तथा पत्रकार पटकपटक राज्यपक्षबाट पीडित भएका छन्।
लेखक सधैं संकटमा हुन्छ। पहिलो– ऊ विचार र सोचको संकटमा हुन्छ। दोस्रो– पाठकीय विवेकताको संकटमा हुन्छ। तेस्रो– सबैभन्दा ठूलो राज्यविमुखताको संकटमा हुन्छ। त्यसमाथि लेखनीय मौनता र धैर्यताको संकटले पनि उसलाई कहिल्यै छोड्दैन। यस्ता यावत संकटलाई चिरेर लेख्छ लेखकले। अन्धकारमा जलेको दीपकको प्रतिमान हो लेखक। जो आफू जलेर देश र समाजलाई उज्यालो दिन्छ।
तानाशाही र कम्युनिष्ट कालमा लेखक मारिनु सामान्य थियो तर असामान्य के हुदैछ भने अहिलेको प्रजातान्त्रिक र प्रेस स्वतन्त्रताको युगमा पनि लेखकको शिकार राज्यले गरिरहेको छ।
लेखक तथा पत्रकारलाई अनेका मुद्दा लाउने, निरुत्साहित गर्ने, दुःख दिने र जोलमा कोच्ने काम नेपाल लगायत अन्य प्रजातान्त्रिक मुलुकमा पनि रोकिएको छैन। ज्वलन्त उदाहरणहरु एकपछि अर्को थपिँदै छन्।
अदालतले गरेका आलोच्य र नागरिकका नजरमा त्रुटिपूर्ण देखिएका निर्णयलाई पत्रकार र पत्रिकाले औंल्याउनु प्रेस जगतको धर्म हो भने गुणको सम्मान र अवगुणको आलोचना लेखकको धर्म हो। पुरस्कार, पद, सम्मान र लाभका लागि लेख्नु भनेको लेखनधर्मिताको चीरहरण गर्नु हो। सच्चा लेखकले त्यो अधर्म गर्न सक्दैन।
धर्म निर्वाहका क्रममा सेतोपाटीअनलाइन र कान्तिपुरमा केही समय अघि प्रकाशित समाचार, लेखरचना र टिप्पणीलाई आधार बनाएर मुद्दा चलाउने तयारी भै रहेको समाचार प्रकाशित भएको थियो (http://setopati.com/raajneeti/11963/)। हालै कान्तिपुर दैनिकका सम्पादक र पत्रकारलाई अदालतको मानहानि भन्दै मुद्दा चलाइएको छ (http://setopati.com/raajneeti/13308/)। अर्कोतिर अदालतको अपहेलना सम्बन्धी विधेयक संसदमा पुगेको छ। कानुनमन्त्री भन्नुहुन्छ– “मलाई विश्वास गर्नुस्। म अभिव्यक्ति हनन हुने कुनै पनि काममा संलग्न हुने छैन।” उपप्रधान एवं गृहमन्त्री भन्नुहुन्छ– “अहिलेको विधेयक जस्ताको तस्तै आए पनि केही फरक पर्दैन। सरकारले संसदमा पेश गरेको अदालतको अपहेलना सम्बन्धी विधेयकको विरोध गर्नेहरु नै निरङ्कुश हुन्।” अर्का उपप्रधान तथा स्थानीय विकासमन्त्री भन्नु हुन्छ– “त्यस्तो केही त्रुटि भए, नागरिकका मौलिक हक अधिकार विरुद्ध भए ‘करेक्सन’ गर्न सकिन्छ।” जनताले कुन मन्त्रीको बोलीमा विश्वस्त हुने ?
थाह छैन प्रेसको घाँटी निमोठिन्छ कि खुकुलै छोडिन्छ। स्मरणीय छ– सर्वोच्चका न्यायाधीशको नियुक्तिमा सरकार सर्वाधिक आलोचित भएको थियो। अर्को के पनि स्मरणीय छ भने– एक राष्ट्रिय दैनिकमा राखिएको पोल– “अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी ल्याइएको अदालतको मानहानि सम्बन्धी विधेयक कस्तो लाग्यो?” मा व्यक्त मत हेर्दा बेठीकमा ७०, ठीकमा २४ र भन्न सक्दिनमा ६ प्रतिशत छ (यो लेख तयार पारुन्जेल)। नागरिक सर्वोच्चता लोकन्त्रको गहना हो र त्यसलाई लोकतान्त्रिक राज्यले सम्मान गर्ने हो भने त्यो विधेयक यसै मतका आधारमा सिधै फिर्ता लिनुपर्छ।
तर राज्यले त्यो चाहँदैन सायद। राज्य सधैं भरौटे खोज्छ, प्रेस र लेखक भरोसा खोज्छ। त्यसैले राज्यको चाहना लेखकले पुरा गर्न सक्दैन र लेखकको स्वतन्त्रतालाई राज्यले कहिल्यै सम्मान गर्न चाँहदैन। लेखक परामुखपेक्षी होस् भन्ने चाहन्छ राज्य। तर पक्षपोषण हैन, न्याय गर्न सकियोस् भन्ने चाहन्छ लेखक।
नेपोलियन वोनापार्ट (सन् १७६९–१८२१)ले भनेका छन्– “संसार अति पीडित छ तर खराबहरुको ‘भोइलेन्स’बाट हैन, असलहरुको ‘साइलेन्स’बाट हो। त्यो ‘साइलेन्स’लाई आवाज दिने लेखक नै हो।
धेरै कानुन राज्यले जनताको लागि हैन, आफ्नो सुरक्षाको लागि बनाउन चाहन्छ। जनताले मागेको दिन्छ तर जनतासँग जे छ त्योभन्दा बढी लिन चाहन्छ राज्य सधैं। यो राज्यको स्वभाव हो। लेखक त्यो स्वभावको विरुद्धमा हुन्छ। लेखकले सधैं आँखा चिम्लियोस् भन्ने ठान्छ राज्य तर लेखक सधैं राज्यको मस्तिष्कको आँखा खोल्न चह्र्याउने दबाइको प्रयोग गर्न चाहन्छ। त्यसैले राज्यले जहिले पनि लेखकलाई शत्रुवत् नजरले हेर्छ।
शत्रु त हो लेखक राज्यको तर खराब हैन, असल शत्रु हो। तर राज्यले सधैं खराब आँखाले हेर्छ। किन भने राज्यले लेखकलाई सधैं मुसो ठान्छ। लेखकले राज्यलाई बिरालोभन्दा पनि डरलाग्दो ब्वाँसो ठान्छ।
राज्यले बुझ्नु पर्छ– लेखन सबैभन्दा ठूलो सत्याग्रह र शक्तिशाली अहिंसात्मक क्रान्ति हो। त्यो सत्याग्रह र क्रान्ति नियत हैन निष्ठाले परिपोषित हुन्छ। जसले फलाम र ढुंगाको सालिकभन्दा बलियो मान्छेको विचारलाई ढाल्छ। त्यसैले लेखक जटिल परिस्थितिमा पनि सहजतासाथ न्यायका पक्षमा निरन्तर लागिरहन्छ।
राज्यले यो पनि बुझ्नु पर्छ– लेखकहरु यसकारणले लेख्न सक्छन् कि उनीहरु धेरै सुन्न सक्छन्। राज्यपक्ष यसकारणले धेरै सुन्नै सक्दैनन् कि उनीहरु धेरै बोल्छन् र धेरै पेल्न मात्र खोज्छन्।
राज्यपक्षले बुझ्न नसकेको अर्को सत्य के पनि छ भने– यदि एउटा लेखकले एक नेताको आदर्शलाई सम्मान गर्छ भने त्यसको अर्थ उसको राजनीतिक वाद–विचारलाई मनन् गरेको हुँदैन। त्यस्तै यदि एउटा लेखकले कुनै वाद–विचारलाई मनन् गर्छ भने त्यसको अर्थ त्यो नेतालाई सम्मान गरेको हुँदैन। यदि एउटा लेखकले कुनै कमसल नेताको आलोचना गर्छ भने त्यसको अर्थ उसको राजनीतिक वाद–विचार र सरकारको अपमान गरेको हुँदैन। तर यसको विपरीत राज्य सधैं शक्तिशाली भ्रममा बाँचेको छ।
‘तिमी बुढो र एक्लो भएसम्म पर्ख’ किताबकी लेखिका तथा फिनल्याण्डकी एक शिक्षिका सेवास्टिन योङ्गले भनेकी छिन्– “एउटा तस्बिरले हजारौं शब्द बोल्न सक्छ तर केही शब्दले त्यसको सम्पूर्ण आकृति परिवर्तन गर्न सक्छ।” त्यो शब्द लेखकले दिन्छ। त्यो परिवर्तन लेखकले दिन्छ।
राज्यले सोच्ने र बुझ्ने बेला आएको छ। राज्य प्रेस र लेखकप्रति अझ अनुदार बन्न खाजेको हो भने अमेरिकी लेखक मार्क ट्विन (सन् १८३५–१९१०)को भनाइ हाम्रो परिप्रेक्षमा पनि सधैं सत्य सावित हुनेछ– “यदि मतदानले फरक पार्ने भए राज्यले हामीलाई मतदान गर्ने अधिकार नै दिने थिएन।”
प्रकाशित मिति: शुक्रबार, आषाढ २०, २०७१ ०८:४०:५६

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !