Monday, July 28, 2014

‘झैं’ 'झैं’ नेपाल

‘झैं’ झैं’ नेपाल

शिव प्रकाश print

  • 398
     
    15
     
    4
    Google +
     
    417

“सरकारले समस्या समाधान गर्दैन, सहायता मात्र गर्छ ।” –पूर्व अमेरिकी राष्ट्रपति रोनाल्ड विल्सन रेगन (सन् १९११– २००४) ।
सरकाररुपी सिमलको रुखमा वर्षै पिच्छे एउटा बेल पाक्छ । यसपाली पनि पक्यो । पाकेपछि त्यो बेलको चर्चा दुईचार हप्ता जताततै हुन्छ । त्यसपछि फेरी उस्तै, सधैं जस्तै ! कागलाई बेल पाक्यो, हर्ष न विस्मात ! जनताले न हर्ष हुने ठाउँ पाउँछन् । न सरकारले विस्मात गर्छ ।
बेलरुपी यो नीति तथा कार्यक्रम र बजेटले सधैं एउटा स्थाई स्वाभाव बोकेर आएको हुन्छ । वर्षैपिच्छे छापिने सरकारी क्यालेण्डर जस्तै यो पनि छापिन्छ । सरकार जसको होस् सत्तापक्षले सधैं भन्छ– देशका सबै रोगको निदान गर्ने महाऔषध हो यो । विपक्षीले सधैं भन्छ– झारा टार्ने दहीको झोल अर्थात ‘पखाले’मात्र हो यो । आरोपीले जे भनुन् । के छैन सरकारको नीति तथा कार्यक्रमा ? के छैन बजेटमा ? विकासै विकास छ । सुधारै सुधार छ ।
राम्रो किन नभनोस त सरकारले ? सबै छ त्यसमा । तर परिणाम ? सधैं हातमा लाग्यो सुन्ना ! कारण– हामी विकासमा सुन्ना मुखी भएका छौं । विकासलाई सुन्नामा राखेर सुन्नाले सुन्नलाई जोड, घटाऊ, गुना, भागा गर्छौ र देशलाई परिणाम पनि सुन्ना नै दिन्छौं । किनभने हाम्रो मनस्थिति सुन्ना छ । कार्यप्रणली सुन्ना छ । निरिक्षण, अनुगमन सुन्ना छ । दण्ड–सजाय, पुरस्कार सुन्ना छ । सत्ताराजनीतिमा एकदुई अंकवालाहरु आशाको दीप बनेर फाट्फूट्ट धिपधिपाउँछन् । तर सुन्नाको हावा थेग्नै सक्दैनन् । निभी हाल्छन् ।
सरकारले कागजमा जे लेखोस् । जस्ता कार्यक्रम बनाओस् । संसारको १५४ औं गरीव मुलुक हो नेपाल । भ्रष्टाचारको शिखर आरोहणमा निरन्तर उक्लदै गरेको मुलुक हो नेपाल । स्न २०१० मा नेपाल ९१ औं स्थानमा थियो । सन् २०११ मा ९३ औं भयो । सन् २०१२ मा १०८ औं भयो । सन् २०१३ मा झन् ठूलो फड्को मारेर १५४ औंमा पुग्यो । सबैभन्दा भ्रष्ट देशहरु १७७ औंमा छन् । नेपाल विश्वको २३ औं भ्रष्ट देशभित्र परेको छ ।
जताततै भ्रष्टाचारको मुहान फुटेको हाम्रो देशको अनुपात, अर्थव्यवस्था, साधन र स्रोतका तथ्यहरुलाई हेरेर भन्ने हो भने संसारमै सबैभन्दा बढी विकास–निर्माणका योजना सायद नेपालमै होलान् ! एनजीओ, आइएनजीओ पनि धेरै नेपालमै होलान् ! नेपालमा जति शिलन्यास, उद्घाटन, रिवन कटाई र समारोह सायदै संसारके कुनै मुलुकमा हुदैन होला !
पार्टीका कार्यकता, नेता, मन्त्री, प्रधानमन्त्री, प्रशासका अधिकारी, समाजका अगुवा तथा संघसँस्थाका पदाधिकारी आफ्नो सेवाकाल(?)मा सबैभन्दा बढी व्यस्त सायद शिलन्यास, उद्घाटन, गोष्ठी र सेमिनारमै हुन्छन् होला ! तिनले भिर्ने फूल–माला, खाद, विल्ला र रिवनको एकमुष्ट खर्च निकाल्ने हो भने कर्णालीको भोकमरी कम गर्न सकिन्थ्यो होला ! त्यमाथि अतिथि सत्कार र अन्य विभिन्न निहुमा हुने हुने दारु–दवा र खानपानको खर्च जोड्ने हो भने सिटामोलको अभावमा मर्न वाध्य गरीव नेपालीलाई बचाउन सकिन्थ्यो होला !
यति धेरै योजना, कार्यक्रम, शिलन्यास, उद्घाटन भएका छन् । तर केही दिन वा केही वर्ष पछि ती कहाँ छन् ? के भएका छन् ? भनेर सोध्ने हो भने तिनलाई नै थाह छैन । कारण के हो भने– कारण कै खोजी हुदैन । त्यसैले यिनको परिणाम पनि लगभग सधैं सुन्नामय हुन्छ । त्यति धेरै विकास भएको अमेरिकामा राष्ट्रपतिले रिवन काटेको मैले अहिलेसम्म देखेको छैन ।
गोष्ठी–सेमिनार, छलफल, अन्तरक्रिया र भ्रमणमा त नेपाल विश्वको पहिलो नम्बरमै आउँछ होला । यिनमा प्रस्तुत र पास भएका सबै कार्यपत्र, योजना  र कार्यक्रम संकलन गरेर राखेको भए दश वर्षमै पुरै सिंहदरबार भरिन्थ्यो होला ! सरकार चलाउन अर्को सिंहदरबार बनाउनु पथ्र्यो होला ! अर्को सिंहदरबार बनाउन पनि अर्को चन्द्र शम्शेर नै जन्मनु पथ्र्यो होला !
यी गोष्ठी–सेमिनार, छलफल, अन्तरक्रिया र भ्रमणमा प्रस्तुत भएका योजना, कार्यक्रम र कार्यपत्र अनुरुप काम भएको भए हाम्रो देश नेपाल चैं युटोपियाको पहिलो सँस्करण हुन्थ्यो होला ! धरतीमा एकमात्र स्वर्गभन्दा सुन्दर र सुविधायुक्त देश नेपाल ! त्यसपछि अमेरिकामा नेपालका लागि डीभी खुल्थ्यो होला । अष्ट्रे्लिया र क्यानडाबाट पीआर लिन गोराहरु यतै आउँथे होला । कति युरोपियनहरु पनि वर्कपरमिट र भीसाका लागि हाम्रा राजदूतावासहरुमा घण्टौं लाइन बस्थे होलान् ! खाडी मुलुकबाट कुनै चेलीको च्यातिएको शरीर र दाइभाइको लासको बासक आउँदैनथ्यो होला ! तर यर्थाथले हामीलाई सधैं उल्टोबाट अचेटेको छ।
खाडी मुलुकको रेमिट्यान्सले चलेको देशको सरकार र सम्बन्धित एजेन्सीका कागजी घोडा जतिसुकै दौडिउन । जतिसुकै ठूला अक्षर र अंकमा विकास लेखिएको होस् तर मैले देखेको र भोगेको यथार्थ अर्कै छ । चालीव वर्ष अघि मेरो गाउँमा एकदुई कठ्ठा जग्गाजमिन नभएको परिवार थिएन भन्दा पनि हुन्छ । भए पनि जनबनी गरेर दुई छाक खान सबैलाई पुगेकै थियो । झुप्राझुप्रीमा बस्नेहरुसँग पनि थोरबहुत जग्गाजिमिन अथवा दोपाय–चौपाए थिए ।
गाउँ छेउछाउमा जंगल–झाडी थियो । खोरिया थियो । पानीका जरुवा–मुहान थिए । चौर–चरान थिए । गाउँलेका साथी जङ्गली जीवजन्तु–चराचुरङ्गी थिए । गाउँटोलमा शान्ति थियो । सद्भाव थियो । त्यही नै सुख थियो ।
अहिले त्यही ठाउँमा भोकमरी छ । औसत भन्दा गरीबको संख्या कता हो कता बढी छ । पैताला टेक्नेसम्म पनि जमिन नहुनेको संख्या सयौं गुणाले बढेको छ । दोपाय चौपायको कुरै छोडौं, अनिकाल बसेको घरमा मुसाको पनि बास छैन । झाडी, जङ्गल, खोरिया सबै मासिए । पानीका जरुवा–मुहान सुके । चौर–चरान झुप्रैझुप्राले भरिए । गाउँम कलह छ । झगडा छ । वैमश्यता छ ।
मेरो निरिह आँखाले देखेको एक ज्वलन्त उदाहरण– मोरङको तात्कालिन हरैंचा गा. प.को वडा नं ७ को सितुमारी गाउँ छेउमा ठूलो जलथल थियो । पानीको श्रोत थियो त्यो । ललिया खोलाको मुहान थियो त्यो । त्यो जलथललाई हात्तीडुब्बा ढाब भनिन्थ्यो । जुन ठाउँमा हात्ती भासिएर मेरेको मेरै आँखाले देखेको थिएँ । त्यो ठाउँमा अहिले तोरी फूल्छ । यो एक प्रतिनिधि यथार्थ मात्र हो । खोज्दै जाने हो भने यस्ता कति होलान् ।
हामी आर्थिकरुपमा मात्र हैन सामजिक र पर्यावरणीय रुपमा पनि कङ्गाल भै सकेका छौं । प्रश्न गर्नु निर्रथक हुन्छ तै पनि खै त कहाँ छ विकास ? कहाँ छ आर्थिक बृद्धिदर ? कहाँ गए सरकारका कार्यक्रम ?
पञ्चायत विकास विरोधी भयो । हामीले २०४६ मा पञ्चायत फ्याक्यौं, प्रजातन्त्र ल्यायौं । दोष पञ्चायतलाई दियौं । प्रजातन्त्रले मात्र विकासको लक्ष्य पुरा गर्दैन भन्यौ, राजतन्त्र फ्याकेर प्रजातन्त्रलाई लोकतन्त्रमा रुपान्तरण गर्यौं । दोष राजतन्त्रलाई दियौं । अब दोष कसलाई दिने ? स्मरणीय छ– प्रजातन्त्र पुनस्र्थापना कालकै राजनीतिक नेतृत्वकै हात–हत्केलामा अहिलेसम्म सत्ता बाँडफाँड भै रहेछ ।
विकासका लागि प्रसस्त राजनीति भयो तर राजनीतिका लागि विकास आवस्यक भएन । सरकार र राजनीतिक दलका कागज र कार्यक्रम (योजना तथा घोषणपत्र)लाई  अब हिटलरका मन्त्री जोसेफ गोइवल्स (१८९७–१९४५) पुलिन्दा भनिदिए हुन्छ । किन भने सरकार र दलका काम काइदा हेर्दा रेगनको भनाइको पनि उल्टो परिणति हामीले भोगे जस्तो लाग्छ ।  सरकारले समस्या समाधान गर्न सहयोग त हैन, झन् थप्छ भने प्रसस्त सहयोग गरेको देखिन्छ ।
कसैले भन्नै पर्दैन देश कस्तो छ भनेर ! हामीसँग सबै छ । सुन्दर देश छ । स्वाभिमानी इतिहास छ । शिक्षित जनशक्ति छ । देशमा सामाजिक–साँस्कृतिक वैभवता छ । लोकन्त्र छ । लोकतान्त्रिक सरकार छ । प्रशासन, प्रहरी, सेना छ । सबै छ तर सबै भएर पनि हामीसँग केही छैन । केही नहुनुको डरलाग्दो र दूर्भाग्यपूर्ण यथार्थ अनेक छन् । धारा छन् पानी छैन । विजुलीका लाइन छन् बत्ती छैन । मोटर छन् इन्धन छैन । चुल्हा छन् ग्यास छैन । प्रहरी–प्रशासन छन् शान्ति–सुरक्षा छैन । कानून छ पालना छैन । सरकार सधैं छ तर भए जस्तो कहिल्यै छैन । छैन..छैन..छैन.. मात्र छ देशमा ।
नेपालीको भाग्य छैनले भरिएको छ । छैन अधिपति भएका छौं हामी । त्यही छैनै छैनको पहाडले सगरमाथा छेक्न लागि सेकेको छ ।
छैनको पनि कारण छ– देशमा जे जति भएका छन् सबै भएका ‘झैं’ मात्र छन् तर भएका ‘चैं’ केही छैनन् । सधैं सबैले गरे ‘झैं’ मात्र गरेका छन् । यै ‘झैं’‘झैं’ मा चलेको छ देश ।  यै ‘झैं’‘झैं’ भित्र ‘मैं’ ‘मैं’ भन्दै सधैं देश दोहन भइरहेछ । यिनै ‘झैं’‘झैं’गर्ने ‘मैं’ ‘मैं’का झूठा र प्राणहिन आश्वासन खाइपिइ गरेर बाँचेका छन् नेपाली ! सधैं मलिन अनुहारमा फुस्रो हाँसेका छन् नेपाली !
Sprakashp9@gmail.com

प्रकाशित मिति: शनिबार, साउन ३, २०७१ १३:५१:०१

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !