Wednesday, July 30, 2014

जय् जय् हिमाल !

शिव प्रकाश

वादलु पर्दा, च्यातेर तिमी, देखाउँछौ त्यो रुप
मुस्कान भरी फुलेका फूल अद्भूत स्वरुप
अल्झिए आँखा, बल्झियो मन विर्सिए मलाई
त्यो रुप हेर्ने लालसा सधैं यो मुटु जलाई । ।

सुन्दर तिम्रा वैभवशाली वक्षका वाहिनी
बाँधेर बान्की चिप्लेटी खेल्ने झरना–मोहिनी
जीवन – पाखा, पखेरा भरी, रोपेर हरियाली
लेक र वेँशी, सुन्दर फाँट, उकाली ओराली । ।

शिरमा सधैं मुकुट श्वेत धर्तीको त्यो ताज
सौन्दर्य कस्तो रहस्य जस्तो बुझिन्न् त्यो राज
धाउँछ सधैं दुधिलो दीप्त बोकेर त्यो जून
आतुर सधैं चुमेर रम्न विहानी किरण । ।

कामको कालो बोकेर माद त्यो मेघ आउँछ
ठोक्किन्छ जब, हारेर आफैं पानी भै बर्सन्छ
बहन्छ बतास उडाऊ भन्दै मनमा भाकेर
अटल तिमी अडिग सामू फर्कन्छ थाकेर । ।

साकार सधैं विराट दिव्य त्यो मौन तवस्वी
हे अविनाशी, सगरमाथा, धर्तीको यशश्वी
शिर भै हाँस्छौ विश्वको तिमी हे मेरो हिमाल !
देख्न र भन्न सधैं म पाउँ, जय् जय् नेपाल !

जय् जय् नेपाल ! जय् जय् हिमाल !
जय् जय् हिमाल ! जय जय नेपाल !

(साउन १०, २०७१ शनिवारको गोरखापत्र)

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !