Sunday, July 6, 2014

किन लेखिन्छ?

किन लेखिन्छ?

शिव प्रकाश print

  • 147
     
     
    13
     
     
    1
    Google +
     
    161
     
  • GET NEWS ALERTS


लेखन एक खतरनाक मौनता र धैर्यताबाट सुरु र अन्त्य हुने डरलाग्दो प्रक्रिया हो। यो प्रक्रिया न सुरु गर्न सजिलो छ, न अन्त्य गर्न। त्यसैले लेखक सधैं संकटमा हुन्छ।
 
कारण– लेखनमा दुःखै दुःख छ। लेख्न सकेन भने त्योभन्दा बढी दुःख हुन्छ। उन्नाइसको दशकका अमेरिकी पत्रकार तथा लेखक जेन फ्लावरले लेखनलाई यसरी बुझेका थिए– ‘लेख्न सजिलो त छः, बस् खाली पाना लिएर तर जबसम्म निधारबाट रगत चुहिँदैन।’ 
 
प्रश्न उठ्छ– तै पनि किन लेख्छ त मान्छे? सामान्यतया धेरैले दिने उत्तर एउटै छ– आफ्ना अनुभव र अनुभूति व्यक्त गर्न।
 
विचारहरु चुहिनै पर्छ। जिब्रोबाट होस् वा कलाबाट अथवा कलमबाट। त्यसैले मान्छे लेख्छ।
 
तर यतिले मात्र यो प्रश्नले उत्तर पाउँदैन। त्यसपछि सबैभन्दा बढी यस्ता उत्तरहरु पाइन्छन्। 
 
– चेतनाका लागि लेख्छु।
 
– समाजका लागि लेख्छु।
 
– समाज सुधार्नका लागि लेख्छु।
 
– समाजलाई उतार्न लेख्छु।
 
– समाजलाई सूसुचित गर्न लेख्छु।
 
– समाजलाई चिनाउन लेख्छु।
 
– समाजमा चिनिन लेख्छु।
 
– सन्तुष्टिका लागि लेख्छु। 
 
– आफ्ना लागि लेख्छु।
 
– अरुका लागि लेख्छु।
 
– खुशीका लागि लेख्छु। 
 
– मनोरञ्जनका लागि लेख्छु। 
 
– शोखका लागि लेख्छु। 
 
– बाँच्नका लागि लेख्छु।
 
– हाँस्नका लागि लेख्छु।
 
–राष्ट्रका लागि लेख्छु ।
 
– लेखक बन्न लेख्छु।
 
तपाईँ के कारणले लेख्नुहुन्छ र यी बाहेक अरु के के कारणले लेख्छ मान्छे ? 
 
यसपछि धेरैले दिने उत्तर हो– लेखेर म आफूलाई हलुङ्गो बनाउँछु। आफ्ना विचारहरु व्यक्त गर्न लेख्छु। तर यतिले मात्रै पनि यो प्रश्नले उत्तर पाउँदैन।
 
लेखन मनोविज्ञानका विषयमा गरिएका विभिन्न अध्ययनले लेखन मनोवृत्तिलाई निक्कै फराकिलो आयाममा प्रस्तुत गरेको छ। लेखकको एउटा ठूलो संख्या अरुलाई प्रेरित गर्न पनि लेखिरहेको हुन्छ। आफूले आफूलाई सुधार्न पनि मान्छेले लेख्ने गरेको हुन्छ। ज्ञान र सीप दिन र लिन पनि लेख्ने गर्छ।
 
यसरी नै निक्कै ठूलो संख्यामा, आसक्ति, विरक्ति, निराशा, कुण्ठा, उदासीनता र आफूभित्रका उल्झन सुल्झाउन पनि मान्छे लेख्ने गर्छ। 
 
मस्तिष्कले लेख भनेपछि नलेखी नसक्ने लेखकको पङ्ति पनि निक्कै लामो छ। यस्ता लेखहरु प्रायः सफल पनि भएका छन्। “मलाई थाहा छ पिँजराको चरो किन कराउँछ” पुस्तकबाट प्रख्याति पाएकी ८६ वर्षिय अश्वेत अमेरिकी लेखिका माया एन्जेलुले त्यसै भनेकी हैनन्, ‘कुनै कथालाई नलेखेर आफूभित्र गुम्साइ राख्नु जस्तो ठुलो पीडा अरु केहीमा हुदैन।’
 
‘लेखनले मलाई पाप र हिंसाबाट जोगाउँछ त्यसैले म लेख्छु।’ यसै भन्थिन् प्रशिद्ध उपन्यास ‘द कलर पर्पल’की अश्वेत अमेरिकी लेखिका एलिक वाकर पनि। 
 
आत्माको आवाजलाई लेखनले बाटो दिन्छ। मैले केही लेखेँ भने म मेरो खुशीभित्र हुन्छु। आफूलाई अपवृद्धि हैन, अभिवृद्धि गरिरहेको हुन्छु भन्ने गहिरो विश्वासका पछाडि पनि लेखकहरु भेटिन्छन्।
 
लेखन एक उद्धेश्यपूर्ण परिकल्पना पनि हो। लेखन मौन विद्रोह पनि हो। यो ठानेर लेख्नेहरु पनि कति हो कति छन्। 
 
लेखनमा निशब्द शब्द मात्र हैन, आवाज पनि हुन्छ। त्यो आवाजमा जीवन हुन्छ। जहाँ आफूलाई भेट्न सकिन्छ। यसलाई जीवनको आवश्यकता हो भन्ने सोचेर लेख्नेहरु पनि छन्। 
 
कतिपय अवस्थामा बोल्दाभन्दा लेख्दा बुद्धिमान देखिन्छ भन्ने विचार राख्ने लेखक पनि प्रशस्तै छन्। बोल्नभन्दा लेख्न सजिलो मान्ने र बोल्न नसक्दा लेखेर व्यक्त हुने मनोविज्ञानले पनि मान्छेलाई लेख्न अभिप्रेरित गरिरहेको हुन्छ। लेखक जन्माइरहेको हुन्छ।
 
यो पनि एउटा भ्रम छ कि लेखक भएपछि मेरा हरेक कुरा समाजले पत्याउँछ। यस्तै सोचेर लेख्ने पनि छन् तर अमेरिकी लेखक रिचर्ड पिक यस्ता कुरालाई अस्वीकार गर्छन्। लेखन भनेको कम्न्युनिकेसन हो, ‘सेल्फ एक्सप्रेसन’ मात्र हैन। लेखनलाई ‘सेल्फ एक्सप्रेसन’मात्र बनायौँ भने त्यो तिम्री आमाभन्दा अरु कसैले पढ्दैनन्।
 
सोह्रौँ शताब्दीका फ्रान्सेली लेखक मोलियर लेखनलाई वेश्यावृत्तिसँग दाज्छन्। ‘लेखन एक प्रकारको वेश्यावृत्ति हो। यो सवैभन्दा पहिला प्रेमका लागि लेखिन्छ। त्यसपछि केही नजिकका साथीका लागि र अन्त्यमा पैसाका लागि लेखिन्छ।’
 
विश्वका विद्वान लेखकमा गनिने व्राजिलियन लेखक तथा कवि पाउलो सेल्हो भने पैसाका लागि लेख्नेहरुलाई यसरी जवाफ दिन्छन्– ‘लेखन पैसाका लागि हो भने म वर्षौ पहिले लेख्न छोडिदिन्थेँ।’
 
आफूले लेखेन भने अरुले पढ्न पाउँदैनन् भनेर लेख्ने गरेको पनि पाइएको छ। लेख्न पाउँदा म आफूलाई भाग्यमानी ठान्छु भन्ने वृटिस लेखिका मिया हडलसँग सहमत भएर लेख्ने पनि छन्।
 
इमान्दार मान्छे नै वास्तविक लेखक हुन्छ। किनभने इमान्दार मान्छेले नै इमान्दार लेखको हुन्छ। यो तथ्यलाई शक्तिशाली भ्रमका रुपमा ग्रहण गरेर आफूलाई अति इमान्दार देखाउन लेख्ने कोरा लेखकहरु पनि नभएका हैनन्।
 
संसार शब्दहरुको सञ्जाल हो। यसले जीवनको अँध्यारोलाई उज्यालो बनाउन सक्छ। शब्दहरुको सञ्जालभित्र आफूलाई चम्किलो बनाउने मनोदशा पनि लेखकहरुमा पाइन्छ।
 
हो, संसारमा नलेखिएका धेरै कथाहरु छन्। तिनलाई लेख्नका लागि पनि लेख्नुपर्ने हुन्छ। खालि पाना मन्द र उदास हुन्छन्, मान्छेहरु जस्तै। तिनलाई जोगाउन पनि लेख्नु पर्छ।
 
केही व्यवसायिक लेखकहरु लेखनलाई अर्थशास्त्रको तराजुमा बजारशास्त्रको ढक राखेर तौलन्छन्। त्यही मनोदशामा डुबेर लेख्छन्।
 
अमेरिकी लेखक अर्विन शा लेखनलाई लागूऔषध पिएर खेलिने प्रिय खेल ठान्छन्। लेखनको गहिरो नशाबाट चाहेर पनि उम्किन सक्दैनन् लेखक। फूल कन्ट्याक्ट गेम’ मान्छन् उनी लेखनलाई। फुटबल र बक्सिङ
जस्तै। ‘त्यसबाट घाइते हुन सक्छौ तर पनि तिमी आनन्दित हुन्छौ।’ यसै भन्छन् उनी। 
 
लेखनका नाउँमा यो नशादायी र खतरनाक तर मनोरञ्जनपूर्ण खेल खेल्नुका पछाडि यी बाहेक अरु के के कारणहरु छन् त ?
 
विभिन्न अनलाईनले विभिन्न समयमा लेखन चेतनाका बारेमा विश्वव्यापीरुपमा मतमतान्तरहरु खोजे। लेखक, कवि, समीक्षक, पत्रकार, पाठकले आफ्ना वैयक्तिक धारणा यसरी पनि राखे।
 
– संसारलाई भित्री आँखाले हेर्न।
 
– एक–अर्कालाई, संसारलाई र सबैभन्दा बढी आफूलाई बुझ्न।
 
– मान्छे–मान्छेबीच सम्वन्धको पुल बनाउन।
 
– मान्छेलाई ढाँट्न। 
 
– मूर्ख बनाउँन।
 
– चकित बनाउँन।
 
– आफूलाई शान्त र स्वच्छ राख्न। 
 
– आनन्दित हुन।
 
– आत्मालाई खुशी राख्न।
 
– आफूले आफूलाई खोज्न, भेट्न, चिन्न।
 
– बुज्रुकता देखाउन।
 
– मस्तिष्कको गुम्साहटलाई निकास दिन। 
 
– मस्तिष्कलाई तरङ्गित गर्न।
 
– मनको रिस शान्त गर्न। 
 
– पीडालाई निकास दिन।
 
– इर्ष्या पोख्न।
 
– असन्तुष्टि पोख्न।
 
– ‘मुड फ्रेस’ गर्न।
 
– आफूलाई पागल बनाउँन।
 
– पागल हुनबाट बचाउँन।
 
– अरुलाई पागल बनाउन र पागल भएको हेर्न।
 
– मानसिक दबाब हटाएर आफूलाई पुनर्जिवित गर्न।
 
– नराम्रा कुरा नसम्झन।
 
– जीवनको बाटो खोज्न।
 
– टाउकोभित्र के छ भनेर देखाउन।
 
– मस्तिष्कको बन्द खामलाई खोल्न।
 
– आफू असल छु भनेर चिनाउँन।
 
– आफूलाई ठीक र अरुलाई बेठीक देखाउँन।
 
– आफ्नो बारेमा भन्न।
 
– आफूलाई राक्षस हुनबाट जोगाउँन।
 
– आफूलाई लापरवाह र नाजुक हुनबाट बचाउँन।
 
– आफूले आफूलाई निर्माण गर्न।
 
– आफ्ना र अरुका संवेदनाहरु पोख्न। 
 
– उत्तेजित गराउन।
 
– उत्तेजना र हिंसाबाट बचाउँन।
 
– अरुलाई घृणा गर्न।
 
– कसैलाई रुवाउन, कसैलाई हँसाउन।
 
– कसैलाई दुःख दिन, कसैलाई खुशी तुल्याउन।
 
– कुनै पनि विषय र वस्तुमा निर्लिप्त हुन। 
 
– आफ्नो हैसियत देखाउन। 
 
– आफूसँग भएको कुरा अरुसँग छैन भनेर विद्वता दर्शाउन।
 
– आफैंलाई पढाउँन, बुझाउँन ,सिकाउँन र स्वप्रेरित गर्न।
 
– आफूलाई जिज्ञासु बनाउँन। 
 
– असल कुरामा अभिरुची बढाउन।
 
– आफूले आफूलाई स्मरण गराउँन। 
 
– आफूलाई आफैंसँग राख्न।
 
– आफूसँग आफू नरहन।
 
– आफूलाई अरुसँग पुर्या‍उन।
 
– समाजलाई स्मरण गराइरहन।
 
– समाजको न्यायाधीश बन्न।
 
– सत्यलाई सजिलै लुकाउन।
 
– असत्यलाई सत्य देखाउन।
 
– समाजमा चिनिन, गनिन, मानिन।
 
– सृजनशितला बढाउन। 
 
– आलस्य हटाउन।
 
– अधैर्यतालाई रोक्न।
 
– आफूलाई नयाँ स्वरुपमा ढाल्न।
 
– रक्सी खाने, तास खेल्ने समय लेखनमा बिताउन।
 
– वेश्यागमन कम गर्न।
 
– आफ्ना परिकल्पना र पात्रहरुमा आफूलाई बाँध्न।
 
– मान्छेलाई सोच्न वाध्य गराउँन।
 
– शब्द र शैलीको शक्ति देखाउन।
 
– मनका परिकल्पनाहरुलाई स्वतन्त्ररुपले प्रयोग गर्न।
 
– शब्दचित्र बनाएर मान्छेका मस्तिष्कमा घुसाउन।
 
– मानवसुलभ कृयाकलापहरुलाई उतार्न।
 
– संसार विभत्स हुनबाट जोगाउँन।
 
– संसारलाई सुन्दर बनाउन।
 
– आफैंसँग स्वतन्त्र हुन।
 
– संसारबाट टाढा रहन।
 
– संसारको निरसताबाट पलायन हुन।
 
– जीवित छु भन्ने ठान्न।
 
– जीवनका स्मरणहरुलाई जीवित राख्न।
 
– लेखनका परिधि र घेराहरुलाई तोड्न।
 
– आफ्ना सपना साकार गर्न।
 
कतिपय कारणहरु उस्तैउस्तै अर्थात कारणसँग कारण मिल्न खोजे जस्तो देखिन्छ। तर पनि यी कारण–कारणबीच तात्विक भिन्नता पनि छ।
 
मूलतः साहित्य लेखन संवेदनाहरुको महानदी हो यसले जीवनको सहारा मरुभूमिलाई पनि भिजाउँछ। त्यसैले मान्छे लेख्छ र पढ्छ। भन्न त लेखन नै त्यस्तो सुन्दर कला हो जसका सामू सबैखाले कलाहरु भद्दा र फिक्का देखिन्छ। त्यो कलालाई कलाकै मर्मको क्यानभासमा उतार्न पनि लेखकहरु लेखिरहेका हुन्छन्।
 
उत्तरहरु जस्ता आए पनि धेरै लेखेकको आसय भने प्राय एउटै हुन्छ– चर्चित बन्ने। चर्तिच बन्नका लागि धेरै लेखक धेरै लेख्न खोज्छन्। लेखनको गुणवत्ता र कलात्मकताको चुरो समात्नुभन्दा संख्यात्मक पक्षको पुच्छर समाएर दौडन्छन्। यस्ता लेखकलाई बेन्जामिन फ्याा ङ्क्लिन यसरी सचेत गराउँछन्– ‘केही लेख जुन पढ्दा त्यसको मूल्य होस्, केही गर जुन लेख्दा त्यसको मूल्य होस्।’
sprakashp9@gmail.com

प्रकाशित मिति: आइतबार, आषाढ १, २०७१ १७:१७:११

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !