Monday, November 24, 2014

नदी किनारको रूख


६ मंसिर, २०७१ नागरिक
शिव प्रकाश

बुहारी खै त?'
छैन।'
नातीनातिना खै त?'
बुहारीसँगै छन्!'
मनमायाका आँखा मदनका अनुहारमा गाडिए। दुवैबीच मौनता निकै बेर मडारियो। मदनका कुरा मनमायालाई कताकति जेरीजस्तो रहस्यमय लाग्यो।
फूलका कोपिलाजस्ता नातीनातिना। आँखाकी नानीजस्ती बुहारी। कसैलाई देखिनन् मनमायाले। मदनको अनुहार हेर्छिन्चन्द्र ग्रहणले खाएजस्तो अध्याँरो! जीवनको ढुकढुकी एउटै छोरो मदनको अनुहारको अँध्यारो आमाको मनमा पनि पोतियो।
मनमा हुँडलिएको उकुसमुकुको खन्तीले रहस्य खोतलूँ जस्तो लाग्यो। बोेल्न खोजिन्, मदनले अल्पविराम लगाइदियो।
आमा थाकेर आउनुभएको छ। खाना खानुस्। आराम गर्नुस्। पछि कुरा गरौंला,' पैसठ्ठी वर्षकी आमा पाँच वर्षको बालकजस्तै आज्ञाकारी भइन्। मलिन अनुहारले मञ्जुरीको टाउको हल्लाइन्।
भान्सामा आमालाई मन पर्ने परिकार छतोरीको गुन्द्रक। रायोको साग। गोलभँेडाको अचार। साह्र्रै मिठो मानेर खाइन् बूढीमान्छेले। मनमनै सोचिन्– ‘कति मिठो भातभान्सा बनाउँछे बुहारी।'
ए साने, लु हेर त! बुहारीको त हातै मिठो। भातमात्तै हैन हातै चाटूँ जस्तो! मान्छे पनि उस्तै असल।'
धेरै पढेलेखेका केटी त काम लाग्दैनन् क्या, साने,' मनमाया थप्दै गइन्, ‘घरबेबार चलाउन त यस्तै हाम्री बुहारीजस्ता साधारन चाहिन्चन्। धनीका छोरीले नि हेप्चन्, अलि धेरै पढेलेखेका नि सारै जान्ने सुन्ने हुन्चन्, भइँ न भाँडाँ'जस्ता। वचन खस्न पाउँदैन लाइहाल्चन्। लोग्नेलाई नि मान्चे गन्दैनन्। सासूलाई त झन् चाकरै बनाउँछन्। भाग्गेमानी रछस् तँ। धन्ने मेरी बुहारी मुना!'
भात खाँदै घरव्यवहारका कुरा गरिरहेकी छन् मनमाया। स्वैरचेतनाको चाल्नीमा मान्छेका गुनबैगुन केलाइरहेकी छन्।
हो आमा, तिम्रो छोरो यो सानेजस्तो भाग्यमानी अर्को कोही छैन दुनियाँमा।' मनमनै बोल्छ मदन। सोच्छआमालाई जति सक्दो चाडो सुताउनु नै बेस हुन्छ।
आमा थाकेर आउनुभएको छ, सुत्न जाऔं,' तातो तावामा हालेको जिउँदो माछोजस्तो छटपटिएको छ मदनको मन। मनमा छटपटी साँचेर मौनता ओढेको मुहारमा गाडिएका मदनका नीरस आँखा आमाका अनुहारमा डुलिरहेका छन्।
बुहारी र नातीनातिनाको मुख नहेरी कसरी सुत्नुजस्तो लाग्छ। तिनले मेरा लुगाँ' फेर्याप पिसाब अझै ग'नाको छ। यिनलाई नहेरी निद्रा आए पो सुत्नु। तिर्सना र तर्कनाको लहरोले फनफनी बेर्छ आमाको मन। सधैं काखमा खेलाए हुर्काएका नातिनातिनालाई नदेखेको वर्ष भइसकेको छ।
हैन के भन्छ यो लिखुरे? नातिनातिना र बुहारीको मुख नहेरी कहाँ सुत्छु र म,' आमाका चञ्चल आँखा केही खोजेजस्तो गरी कुनाकाप्चातिर दौडिरहेछन्। सीमान्तसम्म पुगेका छन्। तर जे खोजेको त्यो भेटेका छैनन् ती आँखाले।
आमालाई के भन्ने?' भुमरीमा फसेको माछोजस्तो भएको छ मदन। सहसा मुख खुल्छ, ‘उनीहरू घुम्न गएका छन्, पर्सि आउँछन्।'
मदनको मलिन अनुहार र अप्रत्यासित जवाफले मनमायाको मनमा औडाहाको नदी बग्न थाल्छ। त्यो नदीबाट शंकाउपशंकाका अनेक भँगाला छुट्टिँदै मिसिँदै जान्छन्।
मैले तेरो कुरा बुझिनँ। सुरुमा सोध्दा, बुहारी छैन भनिस्। नातिनातिना सोध्दा, बुहारीसँगै छन् भनिस्। अहिले घुम्न गएका छन् भन्छस्। तरो बोली नि सुक्न आँटेको तुरतुरे धारोजस्तो छ। अनुवार नि चैता' खडेरीले खा'को जिमीनजस्तो। मलाई नि तुरुन्त आउनू भनेर टिकस पठाइस्? बुहारी नातिनातिना आ'को बर्ख हुँदै छ भरखर। कुरो के हो भन्?'
तपाईं थाक्नुभएको छ, अहिले सुत्नुस् भोलि भनौंला,' मदन आफ्नो कोठातिर लाग्न खोज्छ तर आमाको मन मान्दैन। सुत्ने बेलामा मनमा अनेक पोया र गाँठा कसिएर आउँछन्। पक्कै केही रहस्य हुनुपर्छ जस्तो लाग्छ।
झन्डै १८२० घन्टाको उडान। १०१२ घन्टाको ट्रान्जिट। त्यसमाथि बुढ्यौली शरीर। लखतरान मनमायाको थकान त्यसैत्यसै हराएजस्तो हुन्छ। अशान्त मनले झन् आक्रान्त बनाउँछ मनमायालाई। केही सोध्न खोजिन्। फेरि पनि भोलि भन्दै मदन आफ्नो बेडरुमतिर लाग्छ।
कति गर्दा निद्रा पर्दैन मनमायालाई। झन्झन् रहस्यमय लाग्दै जान्छ मदनको मौनतासँगै बुहारी र नातिनातिनाको अनुपस्थिति। मनमा राम्रानराम्रा कुरा दगुर्न थाल्छन्। अरू धेरै मान्छेका जस्तै राम्राभन्दा नराम्रा कुराको भीड लाग्छ। अनेक अनिष्ट आशंका पालैपालो चाकाचुली खेल्न थाल्छन्।
धर्मपुत्रपुत्री पाल्नेले पैसा दिएर बच्चा लान्चन् रे भन्थे, यिनले पनि कसैलाई दे कि क्या हो? आइमाई केटाकेटीलाई विदेशाँ' लगेर बेच्चन् भनेर सम्चाराँ' नि सुनिन्थो। गामछिमेकले नि यसै भन्थे। कि यो पाजीले पनि...?'
हैन यति पापी र अधम त छैन मेरो छोरो। सानैदेखि सारै असल थ्यो। सोझो थ्यो। दयालु थ्यो। ज्ञानी थ्यो। यस्तो भलो मान्छेलाई यस्तो कुभलो सोच्दा कति पाप लागो होला मलाई। यतिसम्म त सोच्नु नहुने हो। हे भगबान्, केही तलबितल भए छेमा पाउँ' भन्दै मनमाया निद्रादेवीलाई पुकार्न थाल्छिन्। तैपनि निकै बेर अनेक तर्कना र तिर्सनाको रोटेपिङमा मन घुमिरहन्छ।
जीवनमा पहिलोचोटि अमेरिका आएकी मनमाया। मनमा अनेक इच्छाआकांक्षाको पोको बाँधेर ल्याएकी थिइन्। तिनको गाँठो फुकाउन नपाउँदै झन् कसिए अरू गाँठा र पोयाहरू। पहिलो गाँसमै ढुंगा लागेजस्तो। के भो के भो? न बुझ्न पाइन्, न बुझाउन पाइन्। न सुन्न पाइन्, न सुनाउन पाइन्।
भोलिपल्टको दिन पनि तर्कना र तिर्सनामै बित्यो। उनको अतीत सर्लक्कै उल्टिर आफूसँगै अमेरिकै आइपुग्यो। सन्तानको एउटा बीउ मदन। त्यो पनि पाँच वर्षमै टुहुरो भयो। दुखजिलो गरेर पढाएको। कामको खोजीमा मदन भौतारिएको। आँखाभरि सबै सर्सर्ती नाच्न थाले।
केके गरेन मदनले तर केही भएन। केहीले साथ दिएन, दुःखले भने साथ कहिल्यै छोडेन। सधैं भन्थ्योइमान्दार र सोझाको काम छैन देशमा। सके अमेरिका, नसके खाडी...। तै उसलाई अमेरिकै जुरेछ। पाँच वर्षअघि अमेरिका आयो। एक वर्षअघि छोराछोरी र श्रीमतीलाई पनि झिकायो।
तर्कनाका तरेलीमा डुल्दाडुल्दै आँखा अगाडि झुल्किएमृदुल र मनिषी। मनमुटु नै रित्तिने गरी खनियो हजुरआमाको प्रेम नातिनातिनामाथि। तर निकै बेर भइसक्यो बुहारी देखिन्नन्। आँखाले एक फन्को मारे। बुहारी छैनन्।
खै त मम्मी?' हजुरआमाको प्रश्नले नातिनातिनासँग उत्तर खोज्यो। मृदुल र मनिषीले मुखामुख गरे। फेरि एक छिन मौनता मडारियो। तत्काल मदन आफ्नो भूमिकामा देखा पर्योै, ‘यो हप्ता मुनाको छुट्टी भएन रे, अर्को हप्ता आउँछिन्।'
के काम हो तेस्तो? आफ्नै सासू आउँदा नि छुट्टी नहुने?'
बेबीसिटर।'
के हो तो भनेको? खान, बस्न र घर आउन नि फुर्सद नहुनी?'
त्यो कामै त्यस्तै हो आमा। जहाँ काम गर्‍यो त्यहीँ खाने, त्यहीँ बस्ने, त्यहीँ सुत्ने।'
एकै वर्षमा बुहारीले अमेरिकै खाएजस्तो लाग्यो। खानबस्न त परै जाओस् घरै आउन नपाउने काम! कति भ्याइनभ्याइ होला? बुहारीले निकै गतिलो र इज्जतिलो काम गरेजस्तो लाग्यो। भित्रभित्र फुरुङ्ङ भइन् मनमाया।
भेट्न नपाएको मनको अभावलाई बुहारीको कामले तुष्टि भरिदियो। तैपनि कताकता आफ्नो सामाजिक रीतिथितिभन्दा धेरै फरक लाग्यो मनमायालाई।
मनको रगरग मुखबाट निस्कियो, ‘हैन, काम त भो लु; अनि सुत्न नि अरूकाँ' सुत्नु? खै के चलन हो अमि्रकाको? तेसमाथि तेरो अन्वार चैं मधौरा'जस्तो किन नि? स्वास्नी देख्न नपाएर कि क्या हो? आमा भेट्दा नि खुसी भैनस्?'
आमा खिस्स हाँसिन् तर मदनको बक फुटेन। आमाको हाँसोमा आफ्नो मलिन हाँसो मिसायो मदनले। छोराछोरीले फेरि मुखामुख गरे।
लु भेटन् त पाइएन, फुनाँ' कुरा गर्न पाइन्च होला नि? फुन् ला त मुनालाई,' आमाभित्रको छटपटी फेरि बाहिर आयो।
काममा डिस्टर्ब हुन्छ आमा, त्यसो नगरौं।'
मनमायाले ओठ लेप्य्राउँदै मनमनै भनिन्, ‘कैं नभाको डिस्टप यो अमि्रकाँ''
मनमाया दिन गनेर बसेकी छन्। कहिले बित्ला हप्ता भनेर। हप्ता बित्यो तर बुहारी आइन। सुत्ने बेला भइसकेको छ।
उनले बुहारीका लागि सौभाग्यको सौगात भनेर मनकामनाबाट ल्याएको चुरा, धागो, पोते देखाउँदै भनिन्, ‘हैन, खै त बुहारी? रात त जान लागिसको त?'
मदन फेरि एकोहोरियो। आँखा भुइँतिर गाडिए। लामो सास तान्यो। धेरै बेरपछि मुख खोल्यो, ‘आमा, मुना मेरा जीवनको फाँटमा फक्रिएर पनि झरिसकी। ऊ अर्कै धरतीमा फुल्न थालिसकी। अब कहिल्यै आउँदिन...।'
बज्रले हानेर टुक्राटुक्रा पारेजस्तो भयो मनमायाको मन। मूर्तिवत् भइन् निकै बेर। आँखा त्यसैत्यसै टोलाए। चुरा, धागो, पोते एकाएक भुइँमा खसे। भित्रभित्रै पसिनाले भिजिन्। आङ चिसो न चिसो भयो। मन थाङ्थिलो भयो।
जोडी नि उस्तै! पिरेम पनि उस्तै! नाम नि उही! ठ्याक्कै उस्तै लछ्मी पर्सादको मुनामदन जस्तै! भगबान्ले जुराकै हुन् नि, तर जुराउनेले नै एति छिट्टै खोसेर लगे। हे भगबान् तिम्रो लीला!' मनमनै बोल्यो आमाको मन। मेचीकाली बगे आँखाबाट। थामिएन कति गर्दा पनि। पीडामिश्रित क्रोध पोखियो।
तेरो मन ढुंगाको हो कि मान्छेको?'
मुनाका बारेमा आमा दुःखी हुनु स्वाभाविकै हो तर यतिसाह्रो दुःखी हुनुहोला जस्तो लागेको थिएन। आमाका आँखाबाट तरतरी आँसु बगेको देखेर छक्क पर्योै मदन। के भयो आमालाई भन्ठान्यो। अत्तालियो।
आमा, के भयो? किन बगाउनु भएको यसरी यो धरती भिज्ने गरी यी आँसु?'
के म हाँसम् त अब? के नाचम् त अब? यी नातिनातिना टुहुरा हुँदा नि यो आमालाई भनिनस्! हे भगबान्! मुनाको आत्माले शान्ति पाओस्।'
आमा, छोराछोरी टुहुरा भए तर मुनालाई केही भएको छैन।'
छोराका कुरा फेरि जेरीको फेरोजस्तो भो। केही अघिसम्म शून्यतिर एकोहोरिएका आमाका आँखा मदनका आँखामा मिसिए।
केही भएको छैन, भोलि मुनासँग भेट हुन्छ। अहिले अबेला भो सुतुम्।' मदनले यति भनेपछि आमाले आँसु पुछिन्। फेरि पनि छोराको कुरा पत्याइन्। निद्रा नलागे पनि मुडो लडाएजस्तो लडाइन् शरीरलाई ओछ्यानमा।
आशाको एउटा सानो त्यान्त्रोमा अल्भि्कएको छ मदनको मन अझै। सुखद भोलिको आशामा छ ऊ। भोलिको बारेमा सोच्दै निदाउन खोज्छ तर तन्द्रामै बित्छ रातआमाको जस्तै।
बिहान करिब नौ बजे मदन आमालाई लिएर निस्किन्छ। हुकर स्ट्रिटको किनारमा गाडी रोक्छ। पल्लो किनाराको घर देखाउँदै भन्छ, ‘आमा, त्यो घरको ढोकाको छेउमा रहेको बेल थिच्नू। मुना त्यहीँ छिन्।'
बुहारी भेट्न बतासको गतिमा दौडिन्छिन् आमा। चारपाँचपटक बेल थिच्दा पनि कोही निस्किँदैनन्। केही छिनपछि ढोका आधामात्रै खुल्छ। मिनीस्कर्टमा आधा छाती उदांगो, त्यसमाथि ब्वाइजकट कपाल काटेको मानव आकृति मनमायाका आँखामा पर्छ । मनमाया ठम्याउन सक्दिनन्।
नन्सेन्स...' एउटा आवाज हावामा फैलियो। मनमायाले बुझिनन्। ढोका ढ्याप्प बन्द भयो।
म्याग्दीकी मुना मेरिल्यान्डमा मोना भइसकेकी थिई।
एकै छिनमा इमरजेन्सी लाइट बाल्दै पुलिसको गाडी आयो। घरअगाडि नै रोकियो। हेर्दाहेर्दै पुलिसले आमालाई हतकडी लगाए। गाडीमा हाले।
हेलो...हेलो...' भन्दै मदन दौडेर आयो। आई नपुग्दै पुलिसको गाडी हुइँकियो। आमा अत्तालिएर मुना... मुना...' भन्दै थिइन्। मुना होजेको अँगालोमा बाँधिएर यो सबै दृश्य झ्यालबाट हेरिरहेकी थिई।
आखिर त्यही भयो,' मदनले विस्मात्को लामो सास फेर्योम। म गएको भए त्यही हुन्छ भनेर आमालाई मात्र पठाएको, तैपनि त्यही भयो। आमा आएको देखेपछि मुनाले आमाको मन राख्छे भन्ने थियो मदनलाई। परिणाम उल्टो भयो। आशाको त्यो झिनो त्यान्द्रो चटक्क चुँडियो।
पुलिस स्टेसन गएपछि थाहा भयोशान्ति खलबल्याउने प्रयास गरेको भनेर मोनाले ९११ मा कल गरेकी रहिछ।
आफूलाई पुलिसले पक्रेर हतकडी लगाउनुको कारण सोधिन्, मनमायाले। आमालाई अझै ढाँट्नु भनेको आमाको मन अझै दुखाउनु हो भन्ठान्यो मदनको मनले। तर त्यही मनले सत्य कुरा आमासँग भन्ने साहस गर्न सकेन। भन्यो, ‘गल्तीले रहेछ।'
आमाको मन सधैं छोराछोरीमाथि। मनमाया बुहारीलाई छोरीसरहै मान्थिन्। उनको सोझो मन मानेन।
तैंले एैलेसम्म सप्पै ढाँटिस्। खाँटी कुरा के हो भन्? म तेरी आमा हुँ!'
हो आमा, मुना मेरा लागि मरेकी हो तर संसारका लागि जिउँदै छे।'
आफूले कुरा बुझेजस्तो भयो मनमायालाई। मनमा गाडिएको अविश्वासिलो शंका बाहिर निस्कियो, ‘कि पोइला गई?'
हो, आमा।'
कोसँग?'
होजे।'
के अरे, भोजे अरे! तेई पल्ला गाउँको भोजे? डिबी कि टिबी परेर यै अम्रिरका आ'को भोजे?'
भोजे होइन, होजे?'
काँको हो नि?'
मेक्सिको को?
के जातको नि?
तिनीहरूको जात हुँदैन।'
आमाका आँखा फेरि टिलपिल भए। गला अवरुद्ध भयो। चुरा, धागो, पोतेतिर हेरिन्। मनकामना माताको प्रसाद मनकामनामै लगेर चढाउने बिचार गरिन्।
सुन्दरता र यौवन नारीका आफ्नै शत्रु हुन्,' मदन बोलीमा बिट मार्दै बेडरुमतिर लाग्यो।
बेभिचारिनी आइमाई त सन्तानका नि शत्रु हुन्,' मनमायाले आफ्नै मनलाई सुनाइन् आफ्नो
दुखेसो, ‘पीपलजस्तै बटब्रिक्षे ठानेकी थेँ, नदी किनारको रूख पो रैचे। बरु पढेलेखेकाले एस्तो नगर्दा हुन्।'
बुहारीको तर्कनामै तानिएर आयो मध्यरात। झ्याल खोलेर बाहिर चिहाइन्। पश्चिमा हावा बेस्सेरी हुइँकिरहेको थियो। हेर्दाहेर्दा सेन्ट मार्टिन नदी किनारको एउटा रूख गर्लम्म ढल्यो।
मनमायाले मनमनै भनिन्, ‘यो अम्रिरकाको हावा त के सारो डरलाग्दो!'

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !