Sunday, November 30, 2014

खबटाको खप्‍पर

शिव प्रकाश |

२०७१ मङ्शिर १३ शनिबार, 1365 पटक पढिएको
 1023
 4
 
सबैको अनुहारमा उज्यालो पोतिएको छ। दसैंको टीको थाप्ने तरखरमा छन् सबै निधारहरू। 
घरपरिवारको टीकोटालो सकिएको छ। जयशंखर दाइको हातबाट टीको लाउन नातागोता, आफन्त, टोलछिमेक जम्मा भएका छन्। 
 
समाज, देशका जातजाति र दलबलभन्दा धेरै समूहमा विभाजित छ। त्यही विभाजित समाजभित्रको एउटा समूहमा जेठाबाठा, जानेबुझेका, निश्छली-निष्कपटी भनेर चिनिन्छन् जयशंखर दाइ। कवि-लेखक पनि भनेर थोरैले चिनेका छन्। त्यसैले थोरैले नै दाइको स्वभावलाई असल मान्छन्। धेरैले त्यही स्वभावलाई शत्रु ठान्छन्। 
 
हुन त आफ्नै पाराका छन् दाइ पनि। लक्काछक्काभन्दा पक्का कुरा गर्छन्। यस्ता मान्छे धेरैका आँखामा बिझाउँछन् नै। 
टीको लाउन सबैजना कुरिरहेछन्। जयशंखर दाइ भने अरू कसैलाई कुरिरहेछन्। 
 
'दाइ कल्लाई पर्खिनु भा'? टीका लाउने हैन?' 
 
एउटाले सोध्छ। अर्काले सोध्छ। सोध्ने धेरै हुन्छन्। 
 
'यी कवि, कविता कोरल्दैछन् कि क्या हो? बिम्ब नपाएर झोक्राएका त हैनन् ?' 
 
साहित्य बुझ्नेले कवि दाइप्रति व्यंग्यात्मक संकेत गर्छ। नबुझ्नेले बिम्ब के हो भनेर उल्टो सोध्छ। दाइ भने मुसुक्क मुस्कुराइदिन्छन्। 
 
बेलाबेलामा मोबाइलको स्विच अन गर्छन्, हेर्छन्। दाइका नजर घरी मोबाइलतिर घरी बाटातिर ओहोरदोहोर गर्छन्। 
 
'खै कुरा बुझिएन। बूढाको मन ठीक छैन जस्तो छ आज !' 
 
टीका थाप्न बसेको हूलभित्र गाइँगुइँ ओहोरदोहोर गर्न थाल्छ। 
 
'हैन, कसको बाटो हेरेका हुन् बुढाले? कति कुर्नु?' 
 
'तै भन्या, दसैंको आशीष लिने दिनमा कै भन्नु नि भएन। तर हामी सप्पैलाई कुराएर कुरेका चैं कल्लाई हुन् बुढाले?' 
 
नरभन्दा नारीका हूलमा खासखुको धुँवा फैलिन्छ। 
 
'कि बूढाका कोही छन् हँ, नखरमाउलीहरू? घरीघरी मोबाइल नि हेर्छन्। बूढाले आँखा नि तेतै बाटातिरै टाँस्या छन्।' 
 
'के थाहा? आइमाईको साथ, लोग्नेमान्छेको जात ! सप्पै लोग्नेमान्छे उही त हुन् नि। सिदासादा भनेर मात्र हुन्छ र? बूढाहरूको त झन् विश्वासै हुँदैन... !' 
 
'हो, कि क्या हो? आज के जात्रा गर्ने भए त बूढाले हँ?' 
 
महिलाका मनमा अनेक खाले अनुमानका मैला मडारिन्छन्। एउटीको मुख अर्कीका कानसँग जोडिन थाल्छ। एक कान दुई कान हुँदाहुदै मुख र कानको माला गाँसिदै जान्छ। माला भाउजूका कानसम्म पुग्छ। 
 
भाउजूको मुख शिवशंखर दाइका कानमा ठोकिन्छ- 'कसैलाई भन्न नहुने कसलाई कु:या हो ? साँच्चै कोही अप्सरा नै आउँदैछ कि क्या हो ?' 
 
सबैले दाइको खिसी उडाएको भाउजूले सुनिरहेछिन्। धारे हात लाउँछिन्। दाइ भने ङिच्च हाँस्छन्। आँखा सडकतिरै दौडाइरहेछन्। 
 
दाइ पनि भाउजूका कानमा मुख जोड्छन्- 'सबैलाई खाना खान देऊ, टीका लाउन अलि ढिला होला जस्तो छ।' 
 
'किन?' भाउजू छक्क पर्छिन्। 
 
'भनुम्ला नि पछि।' दाइ आफ्नै सनातन शैलीमा बोल्छन्। धेरै कुरा नसुने जस्तो गर्ने, सुने पनि पछि भनुँला नि भन्ने। 
 
'निक्कै ढिलो हुन्छ कि क्या हो?' भाउजूका आँखाले गुच्चाको आकार लिन्छन्। 
 
'नहुन पनि सक्छ !' दाइका कुराले झन् छक्क परिन् भाउजू। लट्टु घुमेजस्तो घुम्छन् गुच्चारूपी भाउजूका आँखा। 
 
'यत्रा मान्छेलाई कुराएर कु:या चैं कल्लाई हो?' भाउजूको 'ओरिजिनल' स्वरले आकार लिन्छ। खस्रो र चर्को स्वर सबैका कानका जालीमा गएर ठोकिन्छ। 
 
भाउजूको स्वरसँगै गाइँगुइँभित्र शून्यताले आयतन फैलाउँछ। सबै मुखामुख गर्छन्। बूढाबूढीका ठाकठुकमा रमाइलो मान्छन्। मिलेको भन्दा लडेकोमा रमाउने हामी मान्छेको स्वभावले स्वरूप धारण गर्छ। धक खोलेर हाँस्छन् कोही कोही। 
 
'ठूल्ठूला कवि लेखक त पागलै हुन्छन् भन्थे तर यी फुच्चेफुच्चे नि कम त हुँदा रैनछन्। कहिल्यै नसुध्रिने !' भाउजूको पारो तात्छ तर दाइलाई फिटिक्कै छुँदैन। दाइको पारा उही छ। ङिच्च हाँसिदिने। 
 
सबैको ध्यान खानपिनमा जान्छ। खानपिनसँगै लोग्नेमान्छे तासको खालमा जोतिन्छन्। आइमाई मान्छेको आ-आफ्नै बथान छ। धेरैजसोले सधैंजस्तै नारी सुलभ स्वभाव देखाइरहेछन्। 
 
सारीचोलो र गरगहनाका बयानको बाँसुरी बेतोडले बजाइरहेछन्। सास फेर्नै फुर्सद छैन ती मुखलाई। मासुको गाँस मुखमै डल्लो परेको छ। मानौं मुखमा सास र गाँसको लडाइँ नै चलेको छ। खानेलाई भन्दा देख्नेलाई झन् गाह्रो भएको छ। त्यसमाथि फलानी यस्ती र ढिस्कानी उस्तीको खानेखुसीले मुखलाई झन् 'बिजी' बनाएको छ। 'बिजी' मुखले के खायो खानेलाई नै थाहा छैन। 
 
प्रायको हातमा स्मार्ट फोन छ। फोटो खिच्ने र फेसबुकमा टाँस्ने होडबाजी झन् चर्को छ। के खाए? कति खान्छु? कति खाएँ? धेरैलाई हेक्का छैन। 
 
मोबाइलको घन्टी बज्छ। दाइको मुहारमुद्रामा नयाँ जस्तापाताको टलक छाउँछ। 
 
'आइपुग्ने बेला भएन? कता हो ?'
 
दाइको बोलीमा घोलिएको मिठास र मधुरताले अरूका मनमा फैलिएको धमिलो शंकाको बाढी झन् उर्लिन्छ। 
 
'हामी सबै तिमीलाई कुरिरहेका छौं' 
 
दाइ फोनवार्ताको बिट मार्छन् तर धेरैका मनमा भने कुराका तान झन् तन्किन थाल्छन्। 
 
'आज के रमिता देख्न पाइने भो?' फेरि कानसँग मुख, मुखसँग कान जोडिन जोडिन्छन्। 
 
भाउजूको गनगन गंगा बग्न थाल्छ- 'खै दसैं हो कि जात्रा हो? कै नखाई टीको लाउनुपर्ने ... ! 
 
'गंगाजी, दसैंको रातो रातो टीका शुभवचनको सारथि हो। पहेँलो जमरा आत्मीयताको प्रतीक हो। दसैं स्वयंमा सद्भावको संस्कार हो। खाएर लाए पनि हुन्छ .....।' 
 
दाइका कुराले किनारा छुन नपाउँदै नाटकको पटाक्षेप बदलिए जस्तो त्यहाँको दृश्य बदलिन्छ। एकआपसमा परेड खेलिरहेका ती सारा जोर आँखा एकाएक पुण्यपाणितिर तानिन्छन्। 
 
हल्का गेरु रङको कमेज सुरुवाल लाएको। झुस्स दाह्री पालेको। घँुडासम्म आइपुग्ने लामो झोला भिरेको पुण्यपाणिको उपस्थिति मध्यरातमा घाम झुल्के जस्तो हुन्छ। उनलाई देखेर सबैको बक बन्द हुन्छ। भित्र न बाहिर हुन्छ मुखको गाँस। निराकार हुन्छ गाइँगुइँ र खासखुस। 
 
धेरै बेरपछि दाइको मुख खुल्छ- पुण्येभाइ, लुअब दसैं मान्नुपर्छ। खाना खाऊ अनि टीको लाऊ। 
 
पुण्यपाणि सहमतिको टाउको हल्लाउँछ। वातावरण सहज बन्दै जान्छ। धेरैको मुखमा अड्केको गाँसको डल्लोले बाटो पाउँछ। गाइँगुइँ र खासखुसले फेरि आकार लिन्छ। टेडिएका धेरैका नजर घरिघरी पुण्यपाणितिर ठोकिन्छन्। 
 
ऊ भने अलि अलग्गै बसेको छ। मौन पुण्यपाणि मौन भाषामा मौनतासँगै बात मारिरहेको छ। नियमित नियालिरहेछ आफू घेरिएको दृश्यलाई। कछुवाको खबटो जस्तो लाग्छ उसलाई मान्छेका खप्पर ! संसारमा सबै प्राणीका अनुहार र स्वभाव एकै छन्। भाषा एउटै छ। हामी मान्छेको किन फरक भएको होला? प्रश्नका घुएँत्राले हानिरहन्छ उसको मगजलाई। 
 
'खाना लिन ऊ । ढिलो हुन्छ टीको लाउन।' 
 
विनयविनित आँखाले दाइलाई हेर्दै भन्छ- 'हुन्छ दाइ एकछिनमा लिन्छु।' 
 
समयको सुई एकनासले दौडिरहेको छ तर उसको मन कतै टक्क रोकिएको छ। आँखा भने मान्छेका भागैपिच्छै हिँडिरहेछन्। आफूले केही खाएको छैन। अरूले खाएको हेरिरहेछ। मानौं उसलाई भोक छैन तर भोकको आगोले भने भित्रभित्रै खपिनसक्नु बनाएको छ। 
 
'मामु यो 'गोटमिट' मीठो लागेन। चिकेन छैन?' पाँच वर्षको बालखजस्तो लाडे पल्टिन्छे बाईस वर्षकी छोरी। 
 
'छ नानी, छ। मीठो नभए फ्याकिदेऊ । चिकेन नै खाऊ । अघाउजी खाऊ ।' उस्तै, सधैंजस्तै नकचरो बोली निस्किन्छ मामु चैंको मुखबाट। 
 
छोरीले एक बटुको खसीको मासु जुठोमात्र हालेर टेबुलमुनि घुसार्छे। अर्को एक बटुको कुखुराको मासु लिन्छे। 
 
'मामु 'चिकेन' पनि मीठो लागेन। भात पनि मीठो लागेन। पिजा छैन?' 
 
'यो नेपालको 'पाटी'मा काँ' पिजा पाउनु? अमेरिका हो र? मीठो नलागे नखाऊ नानी। जाऊ बाहिर गएर कै खाएर आऊ ।' 
 
छोरीले अर्को एक बटुको कुखुराको मासु र एक थाल भात त्यै टुबेलमुनि घुसार्छे। 
 
'बाबु तिमीलाई मीठो लागो के ? नलागे नखाऊ । जाउ, तिमी पनि बाहिर गएर कै खाएर आऊ ।' 
 
अमेरिकाबाट दसैं मान्न आएकी निशाका छोराछोरी अति आज्ञाकारी छन्। मामुको वचन नानीबाबुले तुरुन्तै पूरा गर्छन्। चारजना अघाउने खानेकुराको भाग टेबुलमुनि राखेर हिँड्छन्। 
 
बौद्धिकतामा जिरो भए पनि सुन्दरतामा सधैं अभिमान छ निशालाई। अरूको घरको खानेकुरा कहिल्यै मीठो नलाग्ने विचराको मुखमा सधैं कुराको घुँइचो हुन्छ। दोब्बर लिन्छिन् आधा खान्छिन् आधा फ्यक्छिन्। 
 
अमेरिकाबाटै गएका जयबाबुको बोलीमा कताकति पूर्णे झुल्के पनि अनुहारमा प्राय: सधैं औंसी नै पोतिएको हुन्छ। असल के हो? शून्य सीताराम छन् जयबाबु पनि ! उनको प्रात: स्नान चिन्ताको पोखरीबाटै सुरु हुन्छ। सानु हुइन्छ कि भन्ने चिन्तामै रातदिन डुबाइरहन्छन् आफ्नो खुइलिएको भारी टाउको। खानुभन्दा बढी फ्याक्नु नै ठूलो हुनु हो भन्ने सन्ठज्ञान भरपुर छ उनमा पनि। 
 
मोतीलाल पनि अमेरिकाबाट दसैं मान्न गएका हुन्। संगत गर्नेले भन्छन्, यिनको ज्ञानकुञ्जमा गिद्ध बसेको छ। सधैं आफू सबैभन्दा माथि उडेको देख्छन्। अरूलाई खराब देखाएर आफू असल देखिनु नै उनको नित्य कर्म हो। सकेसम्म खानु, खाएको भन्दा बढी फ्याक्नु उनको व्यक्तित्व हो। व्यक्तिगत आदर्श हो। 
 
सबैले प्राय: खानेकुरा खाइसकेका छन्। लाग्छ त्यहाँ फुपूको श्राद्ध भएको छ। खानेभन्दा फ्याक्ने नै बढी छन्। 
 
पुण्यपाणिलाई लाग्छ- मान्छेले अन्नपानी हैन, मान्छेकै जीवनपान गरिरहेछन्। 
 
तृप्त भएर सबैजना भित्र पसिसकेका छन्। पुण्यपाणि खानेकुरा छेउ जान्छ। प्लेटमा चुलिने गरी खानेकुरा लिन्छ। चारैतिर हेर्छ कसैलाई देख्दैन। खानेकुराको प्लेट खुसुक्क टेबुलमुनि घुसार्छ। 
 
निशा झ्यालको पर्दाबाट नियालिरहेकी छे। सधैं अरूको चियोचर्चोमा आँखा डुलाउने क्षमता नै उनको अर्को विशेषता हो। निशाका काकदृष्टिले समाउँछ पुण्यपाणिलाई। उनको चर्को स्वर कोठाभरि फैलन्छ। 
 
'चोर ! चोर ! त्यो बौलाहा त चोर रैछ। खानेकुरा चोरेर टेबुलमुनि लुकाउँदै छ।' 
 
कोठामा हल्लिखल्ली मच्चिन्छ। सबैका आँखा पुण्यपाणितिर तानिन्छन्। झ्यालका पर्दा पुरै खुल्छन्। उऊ भने चुपचाप खाइरहेको छ। चौरस्तामा चटक हेरेजस्तो सबैले एकतमासले हेरिरहेछन् पुण्यपाणिलाई। 
 
'यो पनि कवि नै हो के ! दाइको सबैभन्दा प्रिय कविभाइ। दिमाग खुस्किएपछि मान्छे कवि हुन्छन् कि क्या हो? बौलाहा कविले त खानेकुरा पनि चोर्दा रछन्।' मान्छेको बथानमा हल्लीखल्लीको मुस्तो मडारिन थाल्छ। 
 
चुपचाप छ पुण्यपाणि एकसुरले खान्छ। हात मुख धुन्छ। एकएक गरेर सबै अनुहारमा आफ्ना नजर डुलाउँछ। रिस, आरिस, तिरस्कार, घृणा र अहम्ता मिसिएका रिमिक्स अनुहारप्रति उसलाई दया आउँछ। मनमनै भन्छ- 'खबटाको खप्परमात्र भएर के गर्नु?' 
 
टेबुमुनि आफूले लुकाएको खानेकुरा प्लेट निकाल्छ। हातमा लिन्छ, हिँड्छ। 
 
सबैका आँखामा उल्काका बिम्ब उम्रिन्छन्। प्रश्नचिह्नका हाँगाबिँगा फैलिन्छन्। सबै मुखामुख गर्न गर्छन्। अनि ती सबै आँखा ऊतिरै खनिन्छन्। 
 
'ल, यो खानेकुरा बाँडेर खाऊ है।' 
 
सडकको पल्लो पेटीबाट एकजोर कलिला अनुहार टुलुटुलु यतै हेरिहरेका छन्। भोको पेट लिएर बसेका ती उदास अनुहारमा खुसीको लेपनले ढपक्कै छाउँछ। तिनै अनुहारमा गाडिएका दुई जोर मलिन आँखामा एकाएक चमक आउँछ। 
 
एउटाले भन्छ- 'आज त मासुभात खान पाइयो।' 
 
अर्कोले थप्छ- 'आज त हाम्रो पनि दसैं आयो।' 
 
'ती खातेलाई खुवाउन पो लगेको रहेछ।' कोमलताको प्रतीक नारीको मुखबाट उम्रिएको एउटा निर्दयी स्वरले शिवशंखर दाइको मन कटक्क खान्छ। 
 
दाइ टेबुलमुनि हेर्छन्। नानीबाबुले फालेको खानेकुराको प्लेट देख्दैनन्। सभ्य समाजमा हुर्किएका नानीबाबुले जुठो हालेर फालेको खानेकुरा पुण्यपाणिले रित्तो पारिसकेको हुन्छ। 
 
तिमीलाई नै पर्खिएका थियौं। अब टीको लगाऔं। तर टीको मैले हैन तिमीले मलाई लगाइदेऊ। जीवनको सामान्य ज्ञानमा तिमी मेरो अग्रज हौ। स्यालुट पुण्यपाणि भाइ।' 
 
दाइको श्रद्धाले पुण्यपाणिको पाउ छुन्छ। धेरैका अनुहारमा ग्लानिको फुस्रो खरानी पोतिन्छ। 
(अन्नपूर्ण पोष्ट दैनिक)

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !