Friday, November 28, 2014

डलर साहित्य

शिव प्रकाश 


  • 1292
     
    139
     
    4
    Google +
     
    1437
  • GET NEWS ALERTS


विदेश बस्ने हामी धेरै जसो बकबास नै गर्छौ। बकबासमा बहकिएको प्रवासी नेपाली साहित्यले ‘डलर साहित्य’को उपमा पाउनु अस्वाभाविक हैन।
२०६८ साल कात्तिक महिनाको अन्तिम साता। जैमलीको मुख हेराई नजिकै थियो। काठमाण्डुले जाडोको बर्को ओढ्न थालिसकेको थियो। डा.गोविन्दराज भट्टराईको फोन आयो बेलुका नौ बजेतिर।
भोलिपल्ट बिहानै हामी बानेश्वरको थकाली भन्छामा जम्मा भयौं। डा. ध्रुवचन्द्र गौतम, डा. तुलसी भट्टराई, डा. गोविन्द भट्टराई, डा. विष्णुविभू घिमिरेका बीचमा डा. शिव गौतम पनि हुनुहुन्थ्यो। उहाँले दुई दिन अघि मातृभूमि नेपाल टेक्नु भएको रहेछ। डा. डा.का बीच म एउटा न डा. थिएँ। कथा लेखेर कपाल पकाउनु भएका अघोषित डा. भाउपन्थी पनि हुनुहुन्थ्यो।
कफीबाट सुरु भयो। शिव गौतमले केही कविता सुनाउनु भो। गोविन्द भट्टराई अर्थोकै केही सुनाउनु भो निक्कै लामो। तर खासै केही बुझिन। सुन्ने सुनाउनेको बीट मारिएपछि कुराको तान सुरु भयो।
शिव गौतम र म डायस्पोरे पर्‍यौँ। नेपाली डायस्पोरा साहित्यका बारेमा कुराकानी चल्नु स्वाभाविकै भयो। डायस्पोरा शब्दप्रति नै सहमति र बिमतिका कुरा पनि चले। एकछिन् चले, एकछिन पछि पानीका फोका जस्तै भए। फुटे, सकिए, बिलाए।
डायस्पोरा शब्दको चर्चा बिलाए पनि साहित्यको चर्चा चलिरह्यो। प्रवासी भनौ वा चलनचल्तीको डायस्पोरा साहित्यका बारेमा सन्मुखमा मीठो बोले पनि बिमुखमा तीतो खोल्ने र मुख बङ्ग्याउने धेरै मुखलाई मैले पनि चिनेको थिएँ। मैले नै सहज बनाइ दिए वातावरण।
मुख खोलेँ। मुखबाट शब्दका रुपमा त्यही निस्कियो, मनमा जे थियो– डलर साहित्य !
एकछिन् हाँसोको फोहरा छुट्यो। ध्रुवचन्द्र गौतमले जिज्ञासा राख्नु भो। म तिर हेर्दै भन्नु भो– शिब्जीले के भन्न खोज्नु भ’को ?
विदेशमा बस्ने हामी धेरैले साहित्यमात्र लेखेनौ डरल साहित्य लेख्यौं। तपाइँहरुको भन्दा हाम्रो योगदान झण्डै नब्बे गुना बढी छ। हामीले एक लेख्नु र तपाइँहरुले नब्बे लेख्नु झण्डै बराबर हो।
त्यो बेला डरलको भाउ लगभग नब्बे थियो क्यारे !
मेरो कुरा हाँसोको फोहरा मात्र भएन छहरा नै भयो। मैले डलर साहित्यका बारेमा बताएँ। तपाइँहरु असन्तोष हुनु स्वाभाविकै हो भने। उहाँहरुलाई सायद ठूलो राहत भयो। त्यो राहत पनि हाँसो कै रुपमा निस्कियो। काठमाण्डौका धारा चुहिए जस्तै सबैका मुखबाट तर्‍याकतुरुक हाँसो चुहियो।
दिउँसो एकजना भाइ भेटिए। कफी गफ चल्यो। उनी साहित्यबिटका जल्दबल्दा नै मानिन्छन्। फिटिक्कै नाम नचलेका जो सुकैको नाम चलाउन सक्ने गरी नाम चलेको एक राष्ट्रिय दैनिकमा बलियै खाँबो भएर बसेका थिए उनी।
सोधेँ– ‘विदेशमा बसेर बर्षका दुई–तीन किताब निकाल्ने लेखक छन्। तिनका रचना यी राष्ट्रिय पत्रिकामा किन छापिदैनन् हँ ?’
बडा सरल, सिधा र स्पष्ट जवाफ दिए– ‘दिनैपिच्छे जस्तो इमेलमा आइरहेका हुन्छन्। तर सिधै डिलिट हान्दिने हो।’
‘किन नि ?’
‘स्तर हुदैन दाइ।’
‘तपाइँको इमेलको जाँतोमा गहुँसँगै घुन पिसिदैन त ?’ हल्का जिज्ञासा राखेँ।
हल्कै जवाफ दिए– ‘अँ.. पिसिन सक्छन्।’ भाइले ओठ लेप्य्राए। मरो मन चसक्क दुख्यो। मन दुखेको कसले देख्ने?
मेरो गिदीमा गुडुलिएको डलर साहित्य फेरि चल्मलाउन थाल्यो। नेपाली डायस्पोरा साहित्य भनेर निक्कै सुनेको थिएँ। के के न होला भन्ठानेको थिएँ। हावा भरिएको भकुण्डो होला भनेको त नभरिई फुस्किएको रहेछ। हावा कहिले भरिन्छ थाह छैन ! हावा भर्न प्रयास गर्ने दुईचार जना सधैं गोलपोष्ट बाहिरै पर्दा रहेछन्।
अपवाद बाहेक सबै जसो बकबासै भेट्टाएँ। म आफू पनि बकबासभित्रै परेँ। निक्कै बकबास गर्न खोजेँ। अहिले लाज लाग्न थालेको छ।
गीत, संगीत, साहित्य र साहित्यकारको मानक के हो ? मापन के हो ? मापक के हो ? कहिँ कतै छ नै। नभए पछि जो पनि हुने भो। म चैं किन नहुने ? यस्तै लाग्थ्यो। जस्तो लाग्थ्यो त्यस्तै गर्थे। प्रतिष्पर्धामा उत्रिन्थे।
त्यसैले त गीत लेख्नै नजानी गीतकार भएँ– आफ्नै एल्बम स्पन्दनको। अरुका पङ्तिमा म गएँ। अहिले मेरा पङ्तिमा सयौ गीतकारहरु आइसकेका छन्। गजलकार आएका छन्। कवि त कति हो कति ? विश्वमा नेपाली जति कवि र समाजसेवी अरु कोही छैनन् होला। नेपालीका जति साहित्यक र सामाजिक सँस्था पनि अरु कसैका छैनन् होला। जनसंख्याका आधारमा सबैभन्दा धेरै कवि र समाजसेवी नेपाली नै होलान् ! कवि हुन् कि समाजसेवी, कलाकारिता गर्ने पनि सबैभन्दा बढी हामी नै होलाऊ !
बीस–चालीस शब्द छोटा हरफमा लेख्ने। कविता भन्ने। तर न गीता, न कविता ! एकदुई लाईन फारफुर बाँकी तानतुन, जोडजाड, चोरचार, फोरफार पारेर गीत बनाउने। मतला–काफिया भन्दै झाँक्रीले डाक्टरी गरेजस्तो भाषाको भ्याक्सेटोमी गर्ने गजल भन्ने।
मूलतः यी दुई विधाले अहिले राम्रैसँग सीदा–चामल पाएको छ। गुणका हैन गुणाका आधारमा मान, सम्मान, पुरस्कारको लिन–देन झन् बढेको छ। कहाँ पुर्‍याउँछ यसले नेपाली साहित्यको गुणवत्तालाई ?
आफ्नै पैसाले किताब छाप्ने। आफ्नै पैसाले एल्बम निकाल्ने। विमोचन गराउने। वरिष्ठहरुले पनि के गरुन ? अतिथि, प्रमुख अतिथिको आसनमा बसेपछि भाषण गर्नै पर्‍यो। खादा, माला, बिल्लाको मूल्य चुकाउनै पर्‍यो। बनाइदिन्छन् एकदिनलाई बहुप्रतिभाशाली कवि, लेखक, गीतकार, साहित्यकार। के के हो के के ? भिराइदिन्छन् सबै अलङ्कार ! सुन्नेले पच्चीस प्रतिशत सुन्छन्। पचहत्तर प्रतिशत मनमनै भन्छन्– डलरको शक्ति, डलरको भक्ति !
हामी मञ्चमा एकदिन, फेसबुकमा एकहप्ता बहुप्रतिभाशाली साहित्यकार हुन्छौं। बाँकी आफ्नै एल्बमको गीतकार ! आफ्नै किताबको कवि, लेखक, कथाकार ! यस्ता हामी कति छौ ? तै पनि हाम्रो बकबास बन्द हुदैन। तर सोच्ने अबेला भै सकेको छ ?
हप्तामा पाँचवटा विमोचन छ भने चारवटा विदेश बसेका नेपालीका हुन्छन्। लहर चलेका छ। रोकिएको छैन। कहिले रोकिन्छ थाह छैन ! रोकिन जरुरी छ कि छैन ? त्यो पनि थाह छैन ! सोच्नु ठीक हुन्छ कि हुदैन ? त्यो झन् थाह छैन। यो जिम्मा पाठक, मूलधार र भँगालाहरुलाई छोड्छु।
तीन वर्षअघि एउटा कथाकार जन्मियो। आफ्नै पैसामा जैमली कथा संग्रह छपायो। विमोचन गरायो। त्यो दिन ऊ पनि मूलधारका कथाकार भन्दा कम भएन। नेपाली साहित्यमा नारी र यौन मनोविज्ञान कथाको नयाँ आयाम थपियो। आग्रह, अनुग्रह, पूर्वाग्रहले थोरबहुत काम गर्‍यो। कतै केही समीक्षा पनि छापिए। कतै कहिल्यै छापिएनन्।
उम्रिने वित्तिकै सगरमाथा जत्रै भयो। दुईचार महिना ठूलै कथाकार कहलियो। मोटै रकम खर्चेर छापेको जैमली वितरकलाई बुझायो। दुई वर्षपछि गयो। किताबको हिसाब माग्यो। वितरकले किताबका ठेली देखाइदियो। त्यतिबेला पोखराका रामचन्द्र केसीलाई सम्झियो। विराटनगरका परशुराम र सोमराजलाई सम्झियो। चितवन, वीरगञ्ज र धनगढीका केही पाठकलाई सम्झियो। जसले फेसबुकमा जैमली खोजको थिए। आफूले बाँधेर दिएको जैमलीको ठलीको गाँठो जस्तोको त्यस्तै थियो।
आँखाका डिल नाधेर झर्न आँटेका आँशु भित्रै सुकाउन खोज्यो। हिनता र भावनाको दह भरिएर निस्किएका आँशु सुकेनन्। मुटुको एउटा कुनाबाट तपतप् चुहिरहे। एक मित्रलाई फोन गरेर अनुरोध गर्‍यो– ‘जैमली फेरि मरी, टुकुचामा बगाइदिनु।’
कसैले टुकुचाका किनारमा जैमलीको लास देख्नु भयो भने अचम्म नमान्नु होला। त्यो त्यही शिव प्रकाशकी जैमली हो, जो केही दिन ठुलै कथाकार भएको थियो।
विदेशमा बसेर साहित्य सेवाको प्रयास गर्नु सदैव प्रशंसनीय छ। नेपाली साहित्यको विकास र विस्तारका लागि यस्तो प्रयास आफैंमा झन् प्रशंसनीय हुन्छ। तर प्रयासले मात्र हुदैन। सायद प्रयास, प्रयास र प्रयास चाहिन्छ। हामी प्रयास गर्ने वित्तिकै परिणाम खोज्छौ, त्यो पनि ज्यामिर रोपेर सुन्तला !
मूलधारको साहित्यमा प्रवासी नेपाली साहित्य आउन नसक्नुको कारण पनि ज्यामिरका बोट नै हुन् जस्तो लाग्छ। प्रयास, प्रयास र प्रयास गरेर सुन्तला रोप्ने र सुन्तलै फलाउने प्रयास पनि केहीले गरेका छन् तर तिनलाई पनि हामीले गहुँको घानमा घुन बनाएर पिसेका छौं।
व्यक्तिगत सम्पर्क, सम्बन्ध, लोभ, लालच, लेनदेन, आग्रह, पूर्वाग्रह बाहेक डायस्पोरा भनिने प्रवासी नेपाली साहित्यले स्वदेशी मूलधारलाई कहिल्यै छुन सकेका छैन।
हामी कोही पनि रातारात गीतकार, संगीतकार, कवि, कथाकार, गजलकार बन्न सक्ने भए वर्षौवर्षेखि तपस्या गरेर कपाल फुलाएका तपस्वीहरुले त्यही रात आत्महत्या गरे हुन्छ।
अब बकबास मात्र गर्ने कि प्रयासमा प्रयास थपेर अरु केही गर्ने प्रयास गर्ने ? मूलधारले पनि आफ्नो सर्वसत्ता तोडेर समेट्ने प्रयास गर्ने कि ........सधैं ओगटेर बस्ने प्रयास नै गरिरहने ?
हालः बोस्टन, अमेरिका।

सेतोपाटी डट कम, प्रकाशित मिति: सोमबार, कार्तिक १०, २०७१ १५:०१:५५

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !