Monday, December 8, 2014

भोक, भोग र सम्भोग

शिव प्रकाश 

print

  • 4275
     
     
    91
     
     
    7
    Google +
     
    4373
     

GET NEWS ALERTS


भोक र भोग हैन, समभोग हो सम्भोग! असल सम्बन्ध जीवनको साँघु हो। सेक्स जीवनको सौन्दर्य हो।
यौनको चरम् सुलभता र चरम् कठोरता दुबै दुःखका कारण हुन्। सेक्समा हार्दिकता हुनु पर्छ। हार्दिकताले मावन मनलाई खुसी बनाउँछ। जीवन खुसीमा हुन्छ। खुसीमै हुन्छ जीवनको जीवन्तता।
बुझ्न र बुझाउन नसकिएको कुरा यही हो। मूलतः यौन र नारीका विषयमा अहिले बेस्सेरी बहस चल्न थालेको छ। राम्रो– वहसमा विचारको विम्ब हुन्छ।
तर यो बहसले नारीजीवनको एकाङ्गी पाटोमा एउटा मात्र खुट्टा टेक्नु हुँदैन। नारीलाई यौनसँगमात्र गाँसेर हेर्नु हुँदैन।
सेक्स र यौनका शिर्षक देख्ने वित्तिकै हाम्रा आँखा तानिन्छन्। यही मनोविज्ञानलाई बुझेर यो पक्षलाई मात्र धेरै उठाइएको हो भने यो वहस सार्थक हुदैन, सस्तो हुन सक्छ।
पत्रकार मित्र राजेश मिश्रको फेसबुक टिप्पणी उल्लेख्य लाग्यो– ‘वीर्यदान बाहेक, महिलाहरु पुरुषले गर्ने हरेक कुरा गर्न सक्छन् भन्ने सावित भै सक्यो। तै पनि महिला लेखनमा किन यति आक्रोश र कुण्ठा अभिव्यक्त हुन्छ ?’
यौनिक स्वतन्त्रताको कुनै सीमा छैन। अहिले यो विषय भन्दा पनि पहाडतिरका फूलमाया र कान्छीमायाहरुलाई बेचिनबाट रोक्न सक्नु पर्छ। तराइका रिहानाहरुलाई पोलिनबाट बचाउनुपर्छ।
एउटा यथार्थ के पनि हो भने, वलत्कार बाहेक जतिपनि हत्या, शोषण र अपराध हुन्छन् तिनमा पुरषको भन्दा नारी हात बढी रहेको पाइन्छ। दाइजोको नाउँमा एउटी नारी जलाउँदा मट्टीतेल सासूले खन्याउँछे, आगो लोग्नेले लाउँछ। एउटी नारीले छोरी जन्माउँदा सबैभन्दा बढी नाक खुम्च्याउने अर्की नारी नै हुन्छे, सासूका रुपमा। त्यही बुहारीले छोरो जन्माइन भने अर्की स्वास्नी ल्याउन आफ्नो छोरालाई वाध्य गराउने पनि नारी नै हुन्छे, आमाका रुपमा। छोरा र छोरीबीच विभेदको पर्खाल उठाउने डकर्मी चेतना अझै प्रसस्त छ, हाम्रा गाउँघरका नारीमा।
रहरले वेश्या हुने सायदै होलान्। सम्भ्रान्त आवश्यकतालाई सजिलोसँग परिपूर्ति गर्ने सहरिया केही इलिटहरु बाहेक।
नारीसँगै वेश्या र वाध्यता हाम्रो समाजमा पर्याय जस्तै बनेका छन्। वेश्यावृत्तिसँग जोडिएका कथा, कहानी, समाचारले एउटी नारीलाई वेश्या बनाएको वाध्यात्मक तथ्यसँग हामी अपरिचित छैनौं। नारीलाई वेश्य हुनबाट बचाउनु समाजको पहिलो कर्तव्य हो।
दीक्षा चापागाइँहरु सायद भाषण गर्दैनन्! थोरै लेखेर धेरै चर्चामा आउन पनि चाहँदैनन्! उनीहरुलाई यी सब् गर्ने फुर्सद पनि छैन होला! भद्रकालीको त्यो अँध्यारो र चिसो छिँडीमा नारकीय जीवन बिताइरहेकी विमलाहरुको उद्दार गर्छन् र राम्रो हैन, असल मानिसको पर्याय बन्छन्।
विमलाहरुलाई यौनिक स्वतन्त्रता चाहिएको छैन। त्यो वेवारिसे नारीलाई जीवन चाहिएको छ। कति छन् जीवनबिहिन जीवन बाँच्न वाध्य नारीहरु?
नारी उत्पीडनका अनेक पाटा छन्। तै पनि यौनसँग मात्र जोडेर यौनिक स्वतन्त्रता र समानताको कुरा धेरै गरिन्छ। प्रायशः अमेरिका र पश्चिमा देशका समाजको उदाहरण प्रशस्त दिन्छन्। तर एक वाक्यमा!
त्यो एक वाक्यले समाजभित्रको समाजलाई देखेका छ? समाजभित्रैबाट त्यो समाजलाई नियालेका छ? त्यो समाजलाई भोगेका छ? समाजको मिहिन अध्ययन त्यही समाजभित्रबाट मात्र गर्न सकिन्छ।
समाज भनेको इँट र सिमेन्टका महल हैनन्। ढुङ्गा–माटाका घर मात्र हैनन्। खरका झुप्राझुप्री मात्र पनि हैनन्। समाज भनेको मान्छे हो। अर्थात मान्छेको समूह हो।
मान्छे देखेर हैन, भोगरे चिनिन्छ। समाज पनि भोगेपछि मात्र थाह हुन्छ। पश्चिमा र अमेरिकी समाजको तुक्का हाक्नु बेग्लै कुरा हो तर यथार्थ ती तुक्काभन्दा बेग्लै छन्।
सेक्स, ड्रग र डिप्रेशन अमेरिकी समजका पर्याय भै सकेका छन्। थोरैको वौद्धिक आतंकले छाएको अमेरिकामा धेरैलाई आफ्नै देशको भूगोल थाह छैन। बोस्टन बसेर न्यूयोर्क नदेख्ने अमेरिकन पनि कति कति हो कति छन्।
यौनलाई सस्तो र अति सहज बनाइनु समाजका लागि कति हानीकारक हुन्छ?
मैले केही दिन अघि बेनीलाई सोधेको थिएँ– ‘तिमी किन गाँजा पिउँछौ?’
नसोचेको जवाफ दियो– ‘सेक्सको लागि।’
तथ्य थाह छैन तर, सेक्स र गाँजाको सम्वन्धका बारेमा सुनेको थिएँ र फेरि सोधेँ– ‘किन, बढी आनन्द मिल्छ?’
झन् सोच्दै नसोचेको जवाफ दियो– ‘केटी फकाउन !’ उसकी केटी मेगनले भरखर १४ वसन्त मात्र पार गरेकी छे। त्यसमा पनि बेनी दोस्रो व्योइ फ्रेण्ड रे!
सेक्सका लागि सिगरेटबाट गाँजा हुँदै तन्किएको नशाको यात्रा क्य्राक र निडलमा गएर टुङ्गिएका घटना कति हो कति छन्। दिनहु समचारमा छाइरहने ओभरडोजका यी घटना हेर्दा लाग्छ, अमेरिकामा मान्छे रोगले भन्दा बढी ड्रगले सुइकिन्छन्।
सोचेँ– यौन र केटी शब्दको पर्याय नारी कति सस्तो भएको छ यहाँ?
केही महिनाअघि हामी दुई एक अपार्टमेण्ट हेर्न गएका थियौं। जानुअघि अप्वाइन्टमेन्ट पनि लिएका थियौं। किचेन, लिभिङ्ग रुम र एउटा बेडरुम हेरिसकेपछि अर्को वेडरुम हेर्न केहीबेर कुर्नुपर्ने भयो।
थेहाले सरी लाउँदै भनी ‘एलीको व्योइफ्रण्ड कायल भरखरै आएको छ, दश मिनेटअघि मात्र। म उनीहरुलाई डिस्टर्व गर्न चाहन्न।’
हामी कुर्‍यौं। दिनको एक बजेको छ। करीब दश मिनेट पछि ढोका खुल्यो।
कायल बर्कोभित्रै थियो। एलीले ढोकामै आँङ् तान्न थाली। थेहाले नदेखेजस्तो गरी। मैले शीर निहुराँए, हेर्न सकिन एलीको विरुप रुप! कोठा गुम्म थियो। गाँजाको गन्धले टाउको समायो। नाकका पोरा थुनेँ।
थेहाले फेरी सरी लगाउँदै भनी– ‘मेरी छोरी १८ पुगिसकेकी छे। केही भन्न पाइँदैन।’
धेरै अमेरिकनले बुझे जस्तै मलाई पनि लाग्यो– सेक्स्युअल फ्रिडम छ अमेरिका! फ्रिडम मिन्स फ्री! अर्थात् सेक्स फ्री!
करीव तीन वर्षअघि एक अमेरिकी टीभी च्यानलमा रियल शो हेर्दै थिएँ। सेक्स्युअल केसहरुको अध्ययन गर्ने र समाधान खोज्ने च्यानल हो त्यो। त्यहाँ तीन पुरुष, एक महिला थिए। महिलासँग एउटा बच्चा थियो।
सञ्चालकले सोधे– ‘यो बच्चा कसको हो ?’
महिलाले भनिन्– ‘थाह छैन, तर यी तीन मध्ये एउटाको हो।’
ती तीन पुरुष अरु कोही नभएर बाबु–छोरा थिए।  ४२ वर्षीय बाबुका २१ र २२ वर्षीय छोरा ! १८–२० वर्षमा बच्चा जन्माउनु पनि सामन्य नै हो अमेरिकामा। उनीहरु एउटै घरमा बस्थे। ती महिला बाबुकी गर्लफ्रेण्ड रहिछन्।
सञ्चालकले फेरि सोधे– ‘तिमीले तीनै जनासँग किन शारीरिक सम्बन्ध राख्यौ?’
महिलाले भनिन्– ‘मेरो शरीर मेरा मर्जी! म यिनीहरुका बाउको स्वास्नी हैन। लिभिङ् टुगेदर मात्र हो। स्वास्नी नै भए पनि यिनीहरुको आमा हैन। बच्चा कसको हो भनेर छुट्याउने काम तिमीहरुको हो, अदालतको हो।’
फेरि सोचेँ– हो, सेक्सुअल फ्रिडम छ अमेरिकामा।
मेरा लागि यी प्रतिनिधि घटना भए तर, अमेरिकी समाजका लागि सामान्य घटना हुन्। हामी अमेरिकी समाजको उदाहरण दिइरहेका छौं तर, के हामी तयार भै सकेको छौ यो समाज भोग्न?
यौनिक स्वतन्त्रताका नाउँमा नेपालमा पनि लिभिङ् टुगेदरको अन्धो अनुशरण हुन थालेका छ। तर, त्यो अन्धताले धेरैको जीवनलाई पीडाको पहाड मुनी थिचिसेकेका कुरा पनि आइसकेका छन्।
सेक्सका लागि मानववय परिपक्व हुनुपर्ने भए जस्तै रुपन्तरणका लागि समाज पनि परिपक्व हुन जरुरी हुन्छ। हाम्रो सामाजिक संरचना, सोच, मूल्य, मान्यता, सँस्कार, सँस्कृतिमा रातारात परिवर्तन हुन सक्दैन। आर्थिक अवस्था, स्वावलम्बन र आत्मनिर्भरता सबैभन्दा ठूलो वाधक हुन्छ सामाजिक रुपन्तरणका लागि।
सामाजिक रुपान्तरणका प्रकृयाहरु विकासको गतिसँगै अघि बढ्नुपर्छ। तबमात्र त्यो सुहाउँदो र पाच्य हुँदै जान्छ। विकासलाई मापन गर्ने हो भने, अमेरिकाभन्दा हामी सय वर्ष पछाडि छौं। यो अवस्थामा हाम्रो समाजलाई अमेरिकी समाजसँग तुलना गरेर लोकप्रियताका लागि केही लेख्नु र बहस चलाउनु अलग कुरा हो। तर, हाम्रा गाउँवस्तीका रितिरिवाज अमेरिकी रिमझिमे संसारसँग कदापी मेल खादैनन्।
जापानमा पनि चरम विकास छ तर, त्यहाँको समाज र सामाजिक संस्कार अमेरिकाको जस्तो उन्मत्त छैन। त्यसैले त भनिन्छ– ‘अमेरिकन लाईफ, जाप्नीज वाईफ।’
विकाससँगै हामीले आफ्नै सँस्कारलाई परिस्कृत गर्दै आफ्नै मोडलको समाज र सँस्कार विकास गर्न सक्छौ तर, त्यसका लागि राष्ट्रिय विकास आपरिहार्य छ। विकासका लागि चेतना आवश्यक छ। चेतनाका लागि शिक्षा आवश्यक छ।
शिक्षाले मात्र पनि हुँदैन, आफैंले निर्धारण गर्ने हो हामीले आफूलाई कति उघार्ने कति छोप्ने? जापनीजहरु शिक्षित छन् तर, पश्चिमाजस्ता निर्वस्त्र छैनन्।
चिताको आगोले पनि उज्यालो र न्यायो दिन्छ तर, के त्यो आगो हामी ताप्न सक्छौं? त्यो उज्यालोमा हामी बस्न सक्छौं? पश्चिमा सामाजलाई चिताको आगोले उज्यालो बनाएको छ।
सेक्सुअल फ्रिडम भनेको एउटा सुरक्षित र सम्मानित यौन सम्बन्धको अवधारणा हो। फ्रिडमको अर्थ फ्री हैन। त्यसैले फ्रिडमसँगै भनिएको छ– फ्रिडम इज नट फ्री!
यौन र नारीलाई सस्तो नबनाऔं। सस्तोप्रति विकर्षण हुन सक्छ। जीवनलाई सुन्दरतासँग जोडौं, कुरुपतासँग हैन। स्वाभाविकतासँग हिडाऔं, उदण्डतासँग नदौडाऔं।

सेतोपाटी, प्रकाशित मिति: बुधबार, मंसिर १७, २०७१ ०९:३२:०६

प्रतिकृया दिनुहोस

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !