Friday, February 13, 2015

श्रद्धाञ्जली !

  • शिव प्रकाश
    • २४ माघ, २०७१, नागरिक, शनिबार ।
     1789  5 Google +6  0  0
जन्मेकै दिन उसले श्रद्धाको समाधि टेकेको थियो।
श्रद्धा, हार्दिक श्रद्धाञ्जली!' हिजोमात्रै यी तीन शब्द फेसबुकमा राख्यो। समवेदनाका हजारौं समवेत शब्द पोखिए। छक्क पर्योध, मानौं कसैलाई थाहा थिएन श्रद्धाको अवसान!
समाज अन्धो हो कि बहिरो! कि दुवै हो? यो भयानक मृत्युको दुःखमा आँसुको डोको भर्खर भर्दै छ समाज!
उसलाई लाग्छखिया लागेको मेसिन हो, मान्छेको मस्तिष्क। कमनसेन्स' नामको मर्मत गरेर पनि काम छैन, फेर्नैपर्ने हुन्छ ।                                              श्रद्धाञ्जली!
फेसबुकमा उसले लेखेको हुन्छकृपया यो दुःखद सन्देशलाई लाइक' नगरिदिनुहोला! तर मृत्युमा लाइक' हान्ने पनि कति हो कति! ती लाइक देखेर मान्छेप्रतिको उसको धारणा फरक हुन्छमान्छेको मस्तिष्क बिग्रिएको मेसिनमात्र होइन, भाइरस लागेको कम्प्युटर पनि हो। डिस्अर्डरमा चलेको छ। त्यसैले धेरैले मृत्यु मन पराएका छन्।
भाइरसले निलेको कम्प्युटरको स्त्रि्कनमा नेकेड फोटो पप्अप् भएजस्तै समाजमा नांगा सालिकहरू पप्अप भइरहेछन्। सिंगो मान्छे डिस्अर्डर भएपछि नांगो सालिक बन्छ। ती नांगा सालिक समाजमा क्याटवाक गर्दै सलबलाउँछन् तर ऊ अचम्म मान्दैन। यसलाई प्रविधि बरदान ठान्छ। आयातीत आधुनिकताको उपहार ठान्छ। आयातमुखी प्यारासाइट' समाजलाई धन्य भन्छ।
श्रद्धाको मृत्युमा बगेका आँसुले फेसबुकका पाखाभित्तामा झुन्डिएका डोका सबै भरिइसकेका छन्। जीवनभर रुनै नसकेका मान्छे पनि रोएका छन्। रुनै नजानेका मान्छे पनि रोएका छन्। मान्छेको वीभत्स मृत्युलाई महान् उत्सव मनाउने क्रान्तिकारी पनि रोएका छन्। देशका प्रधानमन्त्रीहरू पनि रोएका छन्। श्रद्धाको मृत्युमा डाँको छोडेर रोएको अभिव्यक्ति दिएका छन्।
उसलाई लाग्छरुने अवस्था आउनु राम्रो होइन तर रुनु राम्रो हो। अरूको पीडामा रुन सक्ने मान्छेसँग संवेदना हुन्छ।
ट्वीटरमा रुने पनि त्यतिकै छन्। मृत्यलाई फेभरेट' मान्ने मृत्युका फ्यानहरू पनि धेरै छन्।
फेसबुकको लाइकजस्तै ट्वीटरमा फेभरेट हान्नेहरू देखेर उसको धारणा फेरि परिवर्तन हुन्छ। यो धारणालाई ऊ अहिलेको नेपाली भाषाको वर्णशंकर स्वरूपको समृद्ध शब्द माइन्ड चेन्ज' भन्छ।
शरीरका सबै अंगप्रत्यंग चेन्ज' गर्न डाक्टर चाहिन्छ तर माइन्ड चेन्ज', मान्छे आफंैले गर्न सक्छ। उसलाई यो पनि थाहा छ, मान्छेमात्र त्यस्तो प्राणी हो; जो जहाँ मन लाग्यो त्यहाँ, जति बेला मन लाग्यो त्यति बेला, जे मन लाग्यो त्यही गर्छ! ऊ पनि मान्छे हो, उसले पनि गर्छ।
मृत्युमा खुसी हुनु अर्थात् मृत्युलाई मन पराउनु भनेको मृत्युप्रति मान्छेको आकर्षण बढ्नु हो। आकर्षण भनेको प्रेम हो, प्रेम भनेको आकर्षण हो। मान्छेले मृत्युलाई प्रेम गर्न थालेको छ। मृत्युले मान्छेलाई झन् बढी प्रेम गर्न थालेको छ। मृत्यु मान्छेको मलामी बन्दै छ। अब मान्छे मृत्युसँग डराउँदैन। त्यसैले मान्छे न मार्न डराउँछ, न मर्न डराउँछउसलाई यस्तै लाग्छ।
फेसबुक र ट्वीटरमा छरपस्ट पोखिएका समवेदनाका शब्दाँसु, लाइक र फेभरेटसँगै धेरैले सोधेका छन्को हो श्रद्धा? उमेर कति? कहाँ बस्ने? मृत्यु कसरी भयो? कहिले भयो? फोटो किन नराखेको? धेरैले तीनपुस्ते पनि खोजेका छन्।
ऊसँग श्रद्धाको तीनपुस्ते छैन। फोटो पनि छैन। बाँकी सबैको कुराको जवाफ दिनु जरुरी ठान्दैन।
पत्रपत्रिकामा समवेदना पनि छपाउँछ। त्यहाँ पनि त्यति नै लेख्छ, जति फेसबुक र ट्वीटरमा लेखेको छ— ‘श्रद्धा, हार्दिक श्रद्धाञ्जली!' समवेदना सन्देशमा पनि श्रद्धाको फोटो छैन, अमूर्त चित्र छ।
समवेदनाको इतिहासमै नौलो समवेदना छापिन्छ। थर, वतन, उमेर र तस्बिरविनाको विचित्र समवेदना देखेर संसार चकित हुन्छ।
श्रद्धाको मृत्युले पोतिएको छ सामाजिक सञ्जाल। पोत्नेका लाम बढ्दै जान्छ। श्रद्धाञ्जलीभन्दा श्रद्धाका बारेमा प्रश्न बढी उठ्न थालेका छन्। सबैका प्रश्न उस्तै छन्— ‘को हो श्रद्धा? उमेर कति? मृत्यु कसरी भयो? कहिले भयो? खोइ फोटो? फोटो नराख्नुको कारण के?'
कतिले प्रश्नमाथि प्रश्न गर्छन्— ‘कि श्रद्धाको हत्या भएको हो? कसले गर्योन? कहिले भयो? कसरी भयो? कुन पापीले मार्यो् श्रद्धालाई? को हो त्यो हत्यारा? खोजबिन हुनुपर्यो । बाहिर ल्याउनुपर्यो ।'
एकथरी आक्रोश र आवेगको बाढीमा बग्छन्— ‘ए हत्यारा! ए काँतर! बाहिर निस्की। श्रद्धालाई मार्ने को होस् तँ? किन मारिस्? के थियो तेरो चाहना?'
अर्काथरी चिन्ता पोख्छन्— ‘श्रद्धालाई बलात्कार गरेको हुनुपर्छ। श्रद्धा सामूहिक बलात्कारको सिकार हुनुपर्छ। बलात्कारपछि हत्या गरिएको हुन सक्छ। ती हत्यारा बलात्कारीको खोजी हुनुपर्छ।'
नारीवादीहरू फेसबुकमै नारा लाउन थाल्छन्— ‘बलात्कारीलाई फाँसी दे!'
कतिले शंकाको घैंटो भर्दै जान्छन्— ‘श्रद्धा मरेको पुष्टि कसरी गर्ने? खोइ सबुत प्रमाण? कतै यो हौवा त होइन?'
यही मेसोमा घैंटो भर्दै जाने अरू पनि छन्— ‘यो संसारमा लाखौं श्रद्धा होलान्! कुन श्रद्धाको कुरा गरेको? कसरी पत्याउने? श्रद्धालाई श्रद्धाञ्जली दिने आधार के?'
हँुदाहुँदै सामाजिक सञ्जालमा श्रद्धाको मृत्यु भाइरल बन्छ। रेडियो, टिभी, पत्रपत्रिका सबैतिर श्रद्धा, श्रद्धा, श्रद्धा!
फेसबुक र ट्वीटरमा श्रद्धाञ्जली दिने र सहानुभूतिका आँसु चुहानेको बाढी उर्लदै जान्छ। लेख्दै जान्छन्— ‘श्रद्धा तिमी जीवित छौ भने भन तिमी कहाँ छौ? म तिम्रा लागि प्राण दिन तयार छु।'
सहानुभूतिको थाक बढ्दै जान्छ— ‘श्रद्धा, हामी मान्छे हौं! तिमी हाम्रो हृदयमा छौं। हाम्रो हृदयमा तिमी सधैं बाँचिरहने छौ।'
हजारौंले श्रद्धाप्रति श्रद्धा व्यक्त गर्छन्— ‘श्रद्धा, तिमीप्रति हाम्रो श्रद्धा सधैं अटल रहनेछ। तिमी अमर छौ। हामी तिमीलाई मर्न दिँदैनौं।'
फेसबुक र ट्वीटरमा स्तब्ध हुने अझ कति हो कति छन्। तिनले त झन् आफूभित्रको त्यो निश्चेतता र विमूढताको मुस्लो निभाउन बेलुका बोतलकै सहारा लिएको कुरा लेख्छन्। सायद त्यसैले आधा रातसम्म व्यस्त हुन्छन् सहरका भट्टीहरू।
देशभर समाचारको नदी बगेको छ। मानौं देश श्रद्धाको शोक सागरमा डुबेको छ। पत्रपत्रिकाको हेडलाइनमा श्रद्धा! रेडियोटेलिभिजनका ब्रेकिङ न्युजमा श्रद्धा! अनलाइनमा श्रद्धा! सबैले भनिरहेका छन्, लेखिरहेका छन्— ‘हाम्रो टिम श्रद्धाको खोजीमा छ। हामीसँगै रहनुहोला, अपडेटको प्रतीक्षा गर्नुहोला...!'
लेखककविले श्रद्धाप्रति असीम सम्मानका शब्दहरू बगाइरहेका छन्। गीत, गजल, कविता, मुक्तक लेखिएका छन्। लेखस्तम्भ लेखिएका छन्।
यीसँगै मुठाका मुठा प्रश्नका कुन्युले उसको इमेल, फेसबुक र ट्वीटरका पाखाभित्ता भरिइसकेका छन्। प्रायः सबैको प्रश्न उस्तै छ— ‘को हो श्रद्धा? कहिले मरेको? कसरी मरेको?'
उसलाई श्रद्धा मरेको थाहा छ तर कसरी र कहिले थाहा छैन। किन भन्ने थाहा छ तर कसले भन्ने थाहा छैन!
कतिले शंकाका तिखा ढुंगा उसैमाथि प्रहार गरेका छन्— ‘कतै ऊ स्वयं श्रद्धाको हत्यारा त होइन?'
ऊ मौन छ। नबोल्नुलाई नै बोल्नुको अर्थ मान्छ।
फेसबुकमा टाँसिएका धमिला मनका सुकिला मुहारजस्ता लाग्छन् संवेदनाले पोतिएका ती शब्दहरू उसलाई। काठमाडौंका सुक्दै गरेका ढुंगेधारा जस्ता मान्छेका तुरतुरे चेतनामा पनि विष्णुमतीको मैलो विम्ब देख्छ। मुख खोल्नु भनेको विष्णुमतीको लेदो आफ्नो मुखमा हाल्नु हो। मौनता नै मौनताको विकल्प हो भन्ने ठान्छ।
उसलाई थाहा छ, नालीका गुह्येकीरा सलबाएजस्तो सलबलाइरहेका हुन्छन्, फेसबुकमा आत्मरति र ढोङका शब्दरूपी कीराहरू। कति हो कति छन् घृणाको बीउ रोपेर प्रेमका बिरुवा उमार्नेहरू। पलाँसको फूलमा गुलाफको जलप लगाउनेहरू। पानीको फोकामा अनुहार हेर्नेहरूले संवेदनाको गहिराइ छुन सक्दैनन् भन्ने उसले बुझेको छ।
आफैंलाई प्रश्न गर्छ— ‘छुन नसक्नेले अनुभूत कसरी गर्छ?'
ऊ आफ्नै प्रश्नले बेरिएको छ। त्यसमाथि हजारौंका हजारौं प्रश्नले झन् टनटनी कसेको छ। श्रद्धाको मृत्युले सामाजिक सञ्जालमा ल्याएको बाढी झन् उर्लंदो छ। प्रश्नका धारिला तीर झन् बढी बर्सिन थालेका छन्। अर्थात् ऊ नै हो हत्यारा! शंकाको कालो बादलमा आफ्नै छाया देख्छ।
सधैंजसो राति अबेलासम्म सोच्छ। आज राति पनि त्यस्तै हुन्छ। सपनामा आफू मरेर आफ्नो त्यही छाया सलबलाएको देख्छ। आफ्नै छाया आफ्नै मलामी गएको देख्छ। ऐँठनले डल्लो पर्छ। उकुसमुकुस हुन्छ। चिच्याउँछ। खुट्टा तन्काउँछ। झसङ्ङ ब्युँझन्छ।
धाराबाट पानी चुहिँदैन। पसिनाका धारा चुहिरहेछन्। पसिनाले नै नुहाउँछ। सहरमा पानीको पर्याय पसिना भएको छ। मान्छे, मान्छैकै पसिना पिएर बाँचेको छ। ऊ त्यसलाई नियति हैन, नियतको चाल भन्छ।
बिहान दलिनमा उमि्रएको कल्याङ्कुलुङ आवाज कानमा ढोक्किन्छ। ढोका खोल्छ। अनौठा दृश्य नाचेको देख्छ।
सबैका हातमा फूलका थुँगा र गुच्छा छन्। धेरैका अनुहार अँध्यारा छन्। मनभित्र पस्न सक्दैन।
अँध्यारा अनुहार लाउनेहरूमा धेरैजसो कपालदाह्री तीलचामले भएका कवि, लेखक, पत्रकार र तालु खुइलिएका प्रोफेसरहरू छन्। केही नेताका अनुहार उस्तै छन् सधैंका जस्ता! गोहीका अनुहारमा कुँदिएका खोबिल्टाबाट आँसु चुहिएको हो कि र्याउल? थाहा पाउँदैन।
मलामी जाने होइन?' एउटाले सोध्छ।
आफू मरेको र बाँचेकोमा भ्रम हुन्छ। हिजो रातिको सपना साँचो हो जस्तो लाग्छ। आफ्नो मलामी आफैं जान लागेको जस्तो ठान्छ। फेरि उसका लागि यो अनौठो होइन! ऊ आफ्नो बिहेमा आफैं जन्ती पनि गएको थियो। दुलहीको प्रेमीले मण्डपमै आएर सिन्दुर लगाइदिँदा आशीर्वाद दिएर फर्किएको थियो।
सबै जता लाग्छन्, पछिपछि लाग्छ ऊ। सहरको सभ्यताले सिँगारिएको कुरूप वाग्मतीको किनारमा सुकेका मुडामाथि देशका ख्यातिप्राप्त कवि हृदय वैरागी सुतिरहेको देख्छ।
ओझेलमा परेको झुप्रोको पर्याय बनेर हिजोसम्म बाँचेको कवि वैरागीको मृत्युमा शोक र श्रद्धा व्यक्त गर्नेको ताँती छ। मनमनै सोच्छहिजोसम्म कहाँ गएका थिए यी?
मलामी गएकाहरू सबै त्यही रात मर्छन्। मर्नेबित्तिकै सबैले एउटा भावपूर्ण स्वर सुन्छन्— ‘हार्दिक श्रद्धाञ्जली!'
मर्नेहरू सबैले वरिपरि हेर्छन्। कोही छैन। कुनै आकृति छैन। कुनै छाया छैन।
सबैले सोध्छन्, ‘को होस् तँ?'
स्वर बोल्छ, ‘श्रद्धा!'
हामी बाँचुन्जेल कहाँ थिइस्?'
मरेको थिएँ!'
कसरी मरिस्?'
कवि वैरागी बाँचुन्जेल तिमीहरू मरेजस्तै!'
श्रद्धाबाट थप आवाज आउँछ, ‘आफ्नै हृदयको चिहानमा तिमीहरूले मलाई गाडेका थियौ।'
आफ्नो मृत्युप्रति सबै दुःखी हुन्छन्। एकै स्वरमा भन्छन्, ‘हामीलाई हार्दिक श्रद्धाञ्जली!'
गएराति एउटा डरलाग्दो सपना उनीहरूमाथि घोप्टिएको हुन्छ।
मलामी गएका सबैको फेसबुक छैन। ट्वीटर छैन। भएका सबैले बिहानै फेसबुक र ट्वीटर अपडेट गर्छन्, ‘हत्यारा हामी सबै हौं। हाम्रै हृदयको चिहानमा गाडिएर बसेको छ श्रद्धा!'
यो स्ट्याटसमा कसैले कमेन्ट गर्दैन। कसैले लाइक गर्दैन। कसैले रिट्वीट गर्दैन। कसैले फेभरेट हान्दैन। उसले फेरि लेख्छ, ‘श्रद्धा, हार्दिक श्रद्धाञ्जली!'

No comments:

Post a Comment

यहाँको स्वस्थ प्रतिकृया यो नेपाली मनका लागि सधैं स्वागत योग्य हुनेछ । धन्यवाद !